निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्षको चैत सम्ममा पर्यटकको सङ्ख्यामा कमी आएको हो । गत आर्थिक वर्षमा हालसम्मकै सबैभन्दा बढी पर्यटकले निकुञ्ज घुमेका थिए । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्षको चैत सम्ममा एक लाख ८२ हजार २२७ जना पर्यटकले निकुञ्ज घुमेका छन् ।
गत आर्थिक वर्षमा दुई लाख ५० हजार ३३७ जनाले निकुञ्ज घुमेका थिए । चालु आर्थिक वर्षको चैतसम्म नेपाली ९२ हजार ८९०, सार्कका १६ हजार ७९८ र तेस्रो देशका ७२ हजार ५३९ पर्यटकले निकुञ्ज घुमेका छन् । गत आर्थिक वर्षको तुलनामा यस वर्ष आन्तरिक पर्यटकको सङ्ख्यामा ठूलो गिरावट आएको तथ्याङ्कले देखाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तले निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्या र सफारी गर्ने जिप सङ्ख्यामा कमी आउँदा पर्यटकसँगै राजस्वसमेत घटेको बताए ।
यद्यपी निकुञ्जमा भीडभाड नभएको वन्यजन्तुका लागि राम्रो हुने उनको भनाइ छ । गत आर्थिक वर्षमा यो अवधिमा रु २८ करोड २६ लाख राजस्व सङ्कलन भएकामा यस वर्ष रु २३ करोड ६४ लाख ९९ हजार मात्र राजस्व स्कलन भएको छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले कोभिड पछि मानिसमा क्रयशक्ति कम्जोर बन्नु र कोभिड पछि उकुसमुकुस भएका धेरै पर्यटक गत वर्ष निकुञ्ज घुमेकाले यस वर्ष सङ्ख्या घटेको हुनसक्ने अनुमान गरे । उनले भने, जुन सुकै क्षेत्रमा पनि उच्च तहमा पुगे पछि क्रमशः घट्दै जान्छ ।
निकुञ्ज भित्रको घाँसे मैदान व्यवस्थापन समयमा हुन नसक्दा दुर्लभ वन्यजन्तु हेर्न नपाएकाले पनि केही हदसम्म पर्यटक घटेको हुनसक्ने उनको भनाइ छ । क्षेत्रीय होटल सङ्घ सौराहाका उपाध्यक्ष गुणराज थपलिया मूख्य रूपमा बाटोको कारण पर्यटक आगमनमा कमी आएको बताए । उनले भने, सडक र आकासबाट आउनै कठिन छ । कसरी पर्यटक आउँछन् । चितवनबाट भैरहवा, काठमाडौं र पोखरा तीनैतर्फको सडकको स्तरोन्नसत हुँदै गरेकाले सहज नहुँदा पर्यटक नआएको उनले बताए । जहाजबाट आउँदा समयमा उडान नहुने र भाडा महङ्गो भएको थपलियाको भनाइ छ ।

प्रतिक्रिया