बिहीबार, वैशाख २५, २०८२

नेपाल पर्यटन बोर्डद्वारा सचिव सिंहको बिदाइ : नेतृत्व, निर्णय र समर्पणको सम्झना

नेपालखोज २०८२ वैशाख २५ गते १३:०१

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले बोर्ड अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहलाई बुधबार बोर्डको सभा हलमा एक विशेष समारोहका बीच हार्दिक कृतज्ञता व्यक्त गर्दै सम्मानपूर्वक बिदाइ गरेको छ ।

बिदाइ कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशी, बोर्ड उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल), बोर्ड सदस्य ऋषि भण्डारी, नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनका अध्यक्ष कुन्दन शर्मा मिश्रले बोर्ड अध्यक्ष समेत रहेका सचिव सिंहको कार्यकाल फलदायी रहेको धारणा व्यक्त गरेका छन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत जोशीले सचिव सिंहको कार्यकाल छोटो भए पनि उपलब्धिमूलक रहेको उल्लेख गरे । सीईओ जोशीले बोर्डप्रतिको माया र समर्पणले अवकाशपछिको समयमा पनि बोर्ड अध्यक्ष सिंहबाट निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे ।

बोर्ड सदस्य ऋषि भण्डारीले सचिव सिंहलाई ’अभिभावक’ सरह भूमिका निर्वाह गरेको स्मरण गर्दै भने, ‘कठिन समयमा सही निर्णय लिन सक्ने अद्वितीय क्षमता उहाँमा छ । अध्यक्ष पदमा रहँदा राखिएका आशाहरूलाई उहाँले कहिल्यै मलिन हुन दिनुभएन ।’

धन्यवाद मन्तव्य दिँदै सचिव तथा अध्यक्ष सिंहले पर्यटन बोर्ड परिवारप्रति आभार व्यक्त गरे । सचिव सिंहले कर्मचारी विनियमावलीको संशोधन, वार्षिक कार्यक्रम छनोट र कार्यान्वयनमा ध्यान दिन सुझाव दिँदै आगामी दिनमा पर्यटन प्रवद्र्धनका थप प्रयासहरूलाई सशक्त बनाउन आग्रह गरे ।

बोर्ड उपाध्यक्ष कमल सापकोटाले सचिव सिंहको नेतृत्वमा बोर्डले विवादरहित र परिणाममुखी काम गरेको प्रशंसा गर्दै अवकाशपछिको जीवनमा पनि निरन्तर सहकार्य जारी रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य तथा कर्मचारीहरूले सचिव सिंहप्रति नेतृत्व, निर्णय र समर्पणका यादगार क्षणहरू स्मरण गर्दै अवकाशपछिको जीवनका लागि शुभकामना व्यक्त गरेका थिए । सचिव सिंह आफ्नो ३८ वर्षको निजामति सेवा पूरा गरी अवकाशमा गएका हुन् ।

प्रतिक्रिया