बिहीबार, वैशाख २५, २०८२

‘तीनै तहको सरकारबीच एक अर्काको अस्तित्व स्वीकार गर्न आवश्यक’

नेपालखोज २०८२ वैशाख २५ गते १५:१५

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले तीन तहको सरकारले एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताएका छन् ।

प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम प्रादेशिक इकाईले आज धनगढीमा आयोजना गरेको प्रदेश तथा स्थानीय तहबीच अन्तरसम्बन्ध सुदृढीकरणसम्बन्धी अन्तरक्रिया एवं नीति, कार्यक्रम तथा बजेटसम्बन्धी छलफल कार्यक्रमको आज उनले उद्घाटन गरे । एक अर्काको अस्तित्व स्वीकार्ने वातावरण नहुँदा अवस्था जटिल बन्दै जाने उनले बताए ।

बजेट निर्माणमा सधैँ हामीले त्रुटी गरिरहने र जनताले गुनासो गरिरहने परिपाटीलाई पटकपटक दोहोर्याउने होभने सङ्घीय संरचनामा हामी उभिएको व्यर्थ हुनेछ, उनले भने । मुख्यमन्त्री शाहले तीनतहको सम्बन्ध प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा जीवन रानाले कार्यसूची प्रस्तुतिसहित स्वागत मन्तव्य राखे । अन्तरक्रियामा विभागीय मन्त्री, विषयगत समिति सभापति, प्रदेशसभा सदस्य, मुख्यसचिव, विभागीय सचिव र सुदूरपश्चिमका सबै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया