बिहीबार, वैशाख २५, २०८२

‘जलवायु संकट समाधानमा आसियानको भूमिका निर्णायक’

नेपालखोज २०८२ वैशाख २५ गते १८:४८

क्वालालम्पुर । विश्वव्यापी जलवायु कार्यक्रम अस्थिर र विभाजित बन्दै गइरहेको सन्दर्भमा, दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको संगठन (आसियान)ले दिगोपनका लक्ष्यहरू हासिल गर्न अग्रसर भूमिका लिनुपर्ने मलेसियाका प्राकृतिक स्रोत तथा वातावरणीय स्थायित्व मन्त्री निक नज्मी निक अहमदले बताएका छन् ।

उनका अनुसार अमेरिकाले दक्षिणपूर्वी एशियाली मुलुकहरूबाट आउने सौर्य उपकरणहरूमा शुल्क लगाउनु र पेरिस जलवायु सम्झौताबाट अलग हुनु जस्ता कारणहरूले विश्वव्यापी जलवायु कार्ययोजनामा अवरोध पैदा गरेको छ। यस्तो अवस्थामा क्षेत्रीय सहकार्य नै स्थायीतर्फको उत्तम बाटो भएको उनको भनाइ छ ।

निक नज्मीले हालै आयोजित एक छलफल कार्यक्रममा आसियान सदस्य राष्ट्रहरूबीच सहकार्य गर्दै स्रोत र क्षमताहरूलाई एकीकृत गरी जलवायु संकटको सामना गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। ‘हामीसँग वन, जल, युवा जनशक्ति, विस्तारोन्मुख बजार र साझा भविष्य छ ।यसैले हामीले सँगै अघि बढ्नुपर्छ,’ उनले भने ।

मलेसियाले सन् २०५० सम्ममा हरितगृह ग्यास उत्सर्जन पूर्ण रूपमा शून्य बनाउने लक्ष्य राखेको छ। त्यसअगाडि, सन् २०३० भित्र उत्सर्जन उच्च बिन्दुमा पुर्‍याउने र त्यसपछि तीव्र रूपले घटाउने योजना रहेको पनि मन्त्रीले जानकारी दिए । सन् २००५ को तुलनामा २०३० सम्म प्रति राष्ट्रिय उत्पादन एकाइमा उत्सर्जन ४५ प्रतिशतले घटाउने लक्ष्य लिइएको छ ।

उनले क्षेत्रीय ऊर्जा प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले अघि बढाइएको ‘आसियान विद्युत् जाल’ परियोजनालाई विशेष रूपमा उल्लेख गरे । यस योजनाले विभिन्न देशका विद्युत् प्रणालीहरूलाई आपसमा जोड्ने र शुद्ध तथा भरपर्दो ऊर्जाको प्रवाह बढाउने लक्ष्य लिएको छ ।

‘हामी केवल विद्युत् होइन, स्वच्छ विद्युत् साटासाट गर्न चाहन्छौँ। यो हाम्रो क्षेत्रको ऊर्जा प्रणालीलाई प्रदूषणमुक्त बनाउने प्रमुख उपाय हो, किनकि यही क्षेत्र सबैभन्दा ठूलो प्रदूषक हो’ मन्त्रीले प्रष्ट पारे । रासस/सिन्ह्वा

प्रतिक्रिया