संस्कृति र पर्यटन प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण सम्पदा र स्थलको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
मुख्यमन्त्री आचार्यले पाल्पाको रुरुक्षेत्र धाममा आयोजित ‘प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव २०८२’ को आज उद्घाटन गर्नुहुँदै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गरी सरकारले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसारलाई प्राथमिकता दिएको बताए ।
‘घुम्न जाऔँ बर्दिया’, ‘पाणिनि तपोभूमि सम्मेलन’ र ‘रुरु शालग्राम महोत्सव’ जस्ता कार्यक्रम यही उद्देश्यका साथ आयोजना गरिएको मुख्यमन्त्री आचार्यले स्पष्ट पारे । उनले लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या बढ्ने क्रममा रहेको जानकारी दिए ।
यसैगरी, मुख्यमन्त्री आचार्यले धार्मिक आस्था, नैतिक आचरण र संस्कृतिको संरक्षणमा ध्यान दिन आवश्यक रहेको उल्लेख गर्दै समाजमा बढ्दो अराजकताको अन्त्यका लागि असल संस्कार, संस्कृति र मूल्य-मान्यताको जगेर्ना गर्नुपर्ने खाँचो औँल्याए ।
प्रतिक्रिया