देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताएका छन् ।
आज वीरगञ्ज महानगरपालिका-१६ मा नागवा खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले नेपाली जनतालाई शुद्ध र सुरक्षित खानेपानी वितरणका लागि प्रयाप्त बजेट विनियोजन गरिने बताए ।
आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गरिने मन्त्री यादवले बताए ।
नागवा खानेपानी ओभरहेड ट्याङ्की आयोजना १८ महिनाभित्र सम्पन्न गरिने लक्ष्य राखिएको र आफुले मन्त्रीको हैसियतले यथासमयमा काम सम्पन्न होस् भनेर नियमित अनुगमन गर्ने समेत मन्त्री यादवले आश्वासन दिए ।
यस आयोजनाबाट वडा नं १५ र १६ का करिब तीन हजार पाँचसय घरधुरी लाभान्वित हुने खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकालले जानकारी दिए । उनका अनुसार हालसम्म खानेपानीको अभावमा दैनिक जीवनमा कठिनाइ भोगिरहेका यहाँका नागरिकलाई उक्त आयोजना सम्पन्न पश्चात सहज, शुद्ध र पर्याप्त पानी आपूर्ति हुने बिश्वास लिइएको छ ।
आजको उक्त कार्यक्रममा वीरगञ्ज महानगरपालिका नगर प्रमुख राजेशमान सिंह, वडा नं-१६ का वडासदस्य लवङ्गी देवी, वीरगञ्ज-१५ का वडाअध्यक्ष रमेश यादव, वडा न.१६ का वडासदस्य प्रमोद यादव, जसपा जिल्ला अध्यक्ष तथा बहुदरमाईका नगर प्रमुख सिंघासन साह तेली, जिल्ला समन्वय समिति पर्साको प्रमुख अजय सर्राफ, जसपा केन्द्रीय सदस्य जन्नत अंसारी, जसपा केन्द्रीय सदस्य पुरषोत्तम लाल झा लगायको सहभागिता रहेको थियो ।
प्रतिक्रिया