सालघारी फँडानी हुने क्रमलाई कडाइका साथ रोकिने छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा सालघारीको फँडानीलाई कडाइका साथ रोकिने बताएका छन् ।
वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको सालघारी प्रकृतिको अनुपम उदाहरण भएको र पानी पार्नका लागि यस्ता अग्ला रुखहरुको महत्व हुने भएकाले उमेर नपुगेसम्म साललाई व्यावसायिक उपयोगमा लान नहुने बताए ।
प्रधानमन्त्री ओलीले विश्वको वातावरणका लागि पनि योगदान गर्नुपर्ने वषय भएकाले अब वन सवलीकरण गर्ने र बुट्यानहरुलाई पनि सघन वनमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।
कृषि र वनको अधिकृत मिलेर फलफूलखेतीमा जोड दिन सकिने भन्दै उनले हिमाली भेगमा प्रशस्त जैतुनको खेती गर्न सकिने भएकाले पारस्परिक सहयोग बढाएर वन संरक्षण गर्दै आर्थिक समृद्धिको मार्ग अग्रसर हुन आग्रह गरे । उनले किसानहरुलाई पशुपालनमा प्रेरित गर्दा नवीकरणीय वनलाई सहयोग हुने र चरिचरजनको विस्तार गर्दा वन र कृषिको पर्यावरणलाई जोड्न सकिने बताए ।
प्रधानमन्त्री ओलीले पेरिस सम्झौता नमान्ने केही देश रहेको उल्लेख गर्दै विश्व समुदायसँगको सहकार्यमा सबै समाहित हुनुपर्नेमा जोड दिए । उनले यो महत्व आज बुझिएन भने भोलि बुझ्न ढिलो हुने लागेर मुलकले पहिलोपटक अन्तरराष्ट्रियस्तरको कूटनीतिक मञ्च ‘सगरमाथा संवाद’ आयोजना गर्न लागेको बताए ।
प्रतिक्रिया