बिमा साक्षरता तथा सरोकारवालाबीचको छलफल कार्यक्रम सुरखेतमा सम्पन्न

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले सुरखेतमा ‘बिमा साक्षरता तथा सरोकारवालाबीचको छलफल कार्यक्रम’ सफलता साथ सम्पन्न गरेको छ । सुर्खेत जिल्लामा क्रियाशील बैंक, वित्तीय संस्था, लघुवित्त संस्था तथा अन्य आर्थिक निकायका प्रतिनिधिको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रम बीमा क्षेत्रको विविध पक्षमा केन्द्रित थियो ।
कार्यक्रममा ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुङ्गाना, उप-प्रमुख कार्यकारी अधिकृत बिश्वोजन श्रेष्ठ र मार्केटिङ विभाग प्रमुख पोखरेलले स्वयं उपस्थित भई बीमाको अवधारणा, जोखिम व्यवस्थापन अन्डरराइटिङ प्रक्रिया, दाबी प्रक्रिया लगायत बीमा सम्बन्धी सम्पूर्ण पक्षबारे सहभागीलाई विस्तृत जानकारी दिए ।
कार्यक्रमको उद्देश्य बीमा साक्षरता अभिवृद्धि गर्नुका साथै वित्तीय क्षेत्रका सरोकारवालासँग समन्वय र सहकार्यलाई प्रगाढ बनाउनु रहेको थियो । कार्यक्रममा सहभागी संस्थाका प्रतिनिधिले बीमासम्बन्धी आफ्नो अनुभव, जिज्ञासा र सुझाव राख्न पाएका थिए, जसले छलफललाई अझ उपयोगी र अन्तरक्रियात्मक बनाएको थियो ।
सुर्खेत शाखाका कर्मचारीको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले बीमा सेवा विस्तार र वित्तीय समावेशीकरणमा अझ प्रभावकारी योगदान पु¥याउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया