ईयू प्रमुखद्वारा युक्रेनमा बिना शर्त युद्धविरामको आह्वान

नेपालखोज २०८२ वैशाख २७ गते १७:३३

काठमाडौं । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले युक्रेनमा बिना शर्त ३० दिनको युद्धविराम लागू गर्न आह्वान गर्दै अन्यथा रुसले थप कडा प्रतिबन्धको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।

उनले सामाजिक सञ्जाल एक्स मार्फत भने, ‘हामी ३० दिनको पूर्ण र बिना शर्त युद्धविराम प्रस्तावलाई समर्थन गर्दछौं ।’

यो भनाइ फ्रान्स, जर्मनी, बेलायत र पोल्यान्डका नेताहरूले युक्रेनको भ्रमण गरी युद्धविरामका लागि रुसमाथि दबाब दिन आह्वान गरिरहेका बेला सार्वजनिक गरिएको हो ।

भोन डेर लेयनले भने, ‘रुससँग शक्ति भए पनि हामी उसमाथि कडा दबाब कायम राख्नेछौं । यदि युद्धविराम उल्लङ्घन भयो भने थप कडा प्रतिबन्ध लगाउन तयार छौं ।’

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युक्रेनमा युद्धविरामका लागि निरन्तर आग्रह गरिरहनु भएको छ । तर, क्रेमलिनले आफ्नो आक्रमण रोक्ने कुनै संकेत नदिएको र पश्चिमी देशहरूले युक्रेनलाई हतियार आपूर्ति रोक्न नसकेसम्म युद्धविराम असम्भव हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया