शनिबार, वैशाख २७, २०८२

लाङ्टाङ राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो नियन्त्रणका लागि पहिलोपटक दमकल प्रयोग

नेपालखोज २०८२ वैशाख २७ गते २२:०३

रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जको जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि पहिलोपटक दमकल प्रयोग गरिएको छ ।निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहका अनुसार गोसाइँकुण्ड गाउपालिका—५ सानू र ठूलोभार्खुबीचको जङ्गलमा लागेको डढेलो नियन्त्रबाहिर गएपछि जिल्ला विपद् व्यवस्थापन समितिको सहयोगमा दमकल प्रयोग गरिएको हो । त्यसका लागि नुवाकोटको विदुर नगरपालिकाबाट दमकल मगाइएको उनले जानकारी दिए ।

पासाङल्हामु मार्गको डिलबाट दमकलले डढेलो निभाउनका लागि प्रयास भइरहेको वरिष्ठ संरक्षण अधिकृत शाहले बताउनुभयो । नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले जङ्गलमा लागेको डढेलो नियन्त्रणका लागि रसुवामै पहिलोपटक दमकल प्रयोग भएको जानकारी दिए ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित ठूलो सङ्ख्यामा आगो नियन्त्रणको प्रयास गरिए पनि हावाहुरी र बढी भिरपाखो भएका कारण परिस्थिति काबुभन्दा बाहिर गएपछि दमकल मगाइएको वरिष्ठ संरक्षण अधिकृत शाहले बताए ।
सुरक्षा अङ्गले मानव वस्तीलाई संरक्षण गरिरहेको र हालसम्म कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । -रासस

प्रतिक्रिया