मनका कुरा मनमै रहे

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा श्री ज्योति फाउण्डेशनले गरेको ‘कर्णाली छोरी सम्मेलन’ को दोस्रो दिन आइतबार भेला एका थिए कर्णालीका छोरीहरू । उनीहरू पहिलोपटक धक फुकाएर मनका कुरा खोले । कार्यक्रमको नामै थियो–कर्णालीका छोरीसँग मनका कुरा ।
हुम्लाको ताजाकोट गाउँपालिकाकी सपनाशाहीले अहिलसम्म आफ्ना मनका कुरा कसैलाई नसुनाउने गरेको बताइन । …मेरो मनका कुरा अरुलाई सुनाउ जस्तो पनि लाग्दैन । म आफ्ना मनका कुरा म आफैलाई सुनाउछु । मभित्र एउटा जनावर छ । हामी प्रत्येक भित्र एउटा जनावर छ । यसले हामीलाई गाइड गरेको हुन्छ,’ उनले भनिन् ’जबसम्म हामीले यसलाई गाइड गर्दैनौ यसले हामीलाई सही मार्ग दिन सक्न । त्यसैले म सकारात्मक भावका साथ मेरा मनका कुरा म आफैलाई सुनाउ छु ।’
शाहीले महिनावारीका समयमा निकै कष्ट व्यहोर्नु परेको सुनाइन । शिक्षित समाजमा अझै पनि महिनावारी भएको समयमा गोठमा बस्नुपर्ने प्रथाजनित गलत संस्कारको सिकार बन्नु परेको उनले सुनाइन । परिवार र समाजले स्वीकार्न नसक्दा महिनावारीको समयमा पशुसरहको विभेद खेप्नु परेको गुनासो शाहीले व्यक्त गरिन ।
उत्तरी नाम्खा गाउँपालिकाकी लामु तामाङले भने आफ्नो मनभित्रको कुरा आमालाई सुनाउने गरेको सुनाईन । ‘सर्वप्रथम आफ्नो मनको कुरा ममीसँग सेयर गर्छु । तर सबै कुरा सेयर गर्न सकिदैन । डिटेलमा सेयर त आफैसँग गर्छु । अहिलेसम्म अन्य साथीहरुसँग मनका सबै कुरा सेयर गर्दिनन् । मेरा मनका कुरा सबैले सुनिदिउन जस्तो पनि लाग्दैन,’ उनले भनिन् । हुम्लाकै खार्पुनाथ गाउँपालिकाकी रश्मी परियार पनि छोरी सम्मेलनमा आफ्ना कुरा सुनाउन आएकी थिइन । उनले आफुलाई समाजबाट जातकै कारण भोग्नु परेको विभेदले पिरोल्ने गरेको सुनाइन ।
‘हाम्रो गाउँमा जातिय छुवाछुत निकै छ । मान्छे मरेपछि तिमिहरु तल्लो जातले छुनु हुँदैन भन्छन् । हामी जस्ता गरिवलाई हेपिन्छ,’ उनले भनिन् । आफूहरुलाई जातकै आधारमा विभेद गरिदा अपहेलित हुनुपरेको दुखेशो परियारको छ । जातिय विभेद आफुलाई मन नपर्ने उल्लेख गर्दै उनले नाम पछाडिको थरले जतातै विभेद भोग्नु परेको गुनासो गरिन । उनले पनि महिनावारीको विभेदबाट थिचिएको अनुभुति सुनाइन ।
सर्केगाड गाउँपालिकाकी आस्था शाहीको मनमा महिनावारी गहिरो गरी बसेको छ । महिनावारी नियमित प्रक्रिया हो भन्ने त उनलाई थाहा छ, तर परिवार र समाजको स्वीकार्यका अघि उनको डेग चलेको छैन । शाहीलाई आफ्ना बाबुआमाबाट टाढा भएर शिक्षा लिनु बाध्यता पटक्कै मन परेको छैन ।
परिवारसँगै बसेर शिक्षा लिन नपाउने अवस्थाले निकै पिरोल्ने गरेको अुनभुति शाहीको छ । आफ्ना परिवारसँगै बसेर उच्च शिक्षा लिन पाए हुन्थ्यो भन्ने उनको मनमा लाग्छ । एसईई सकेपछि सयमा ९० प्रतिशत विद्यार्थीे घर छाडेर सहर जान बाध्य हुनुपरेको उनले बताइन ।
यस्तै, सिमिकोट गाउँपालिकाकी सञ्चिता भण्डारीले बालविवाहले कयौ छोरीको भविष्य अन्धकारमा धकेलिने अवस्था रेहेको सुनाइन । उनीहरु मात्रै होइन ‘छोरीका मनका कुरा’ सत्रमा सहभागी हुम्लाका आठै जना किशोरीका मनका कुरा एकै खालका थिए । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको अभावले उनीहरु राज्यका आधारभूत सेवाबाट बञ्चित थिए नै, प्रथाजनित हानिकारक सामाजिक संस्कारको सिकारसमेत बनेको तितो यथार्थबा गुज्रिरहेका छन् । २१ औं शिक्षित समाजमा अझै पनि कर्णालीका छोरीहरु जातिय विभेद र छाउपढी प्रथाविरुद्ध संघर्ष गर्नुपर्ने बाध्यतामा छन् ।
उक्त सत्रमा हुम्लाको अदानचुली गाउँपालिकाका सविना विष्ट, सर्केगाड गाउँपालिकाका आस्था शाही, सर्केगाड गाउँपालिकाकै नविना शाही, चंखेली गाउँपालिका भावना शाही, ताजाकोट गाउँपालिकाका सपना शाही, खार्पुनाथ गाउँपािलकाका रश्मी परियार र नाम्खा गाउँपालिकाका लामु तामाङ आफ्ना मनका कुरा सुनाउन प्रदेशको मुकाम वीरेन्द्रनगर झरेका थिए ।
श्री ज्योति फाउण्डेशन र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा शनिबारदेखि छोरी सम्मेलन जारी छ । कर्णालीमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा कर्णालीका ७९ वटै पालिकाकाबाट झण्डै दुई बढी छोरीहरु सहभागि छन् ।
प्रतिक्रिया