राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका छन् ।
सरकारले सभामा पेस गरेका नीति तथा कार्यक्रमका विविध बुँदामा सांसदद्वारा प्रस्तुत संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए । त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएका थिए ।
त्यस क्रममा उनले नीति तथा कार्यक्रम सुशासन प्रवद्र्धन र विकासको गतिलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित प्रस्तुत भएको बताए ।
उनले सबैको भावना अनुरुप सहमतिका आधारमा संविधान संशोधन गरिने स्पष्ट पार्नका साथै शिक्षालाई सर्वसुलभव र जीवनउपयोगी बनाईने, वर्तमान शिक्षा पद्धतिलाई आधुनिक र वैज्ञानिक बनाइने, सुदृढ र सन्तुलित छिमेक र अन्तरराष्ट्रिय सम्बन्ध कायम गरिने बताएका थिए ।
प्रधानमन्त्री ओलीले सरकारी निकायबाट सञ्चालित कार्यक्रम उद्यमशीलताको विकास, उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनामा केन्द्रित गर्ने र तीन तहका सरकारबीचको सहयोग, समन्वय र सहकार्यमा कृषिको व्यावसायिकीकरण र पूर्वाधार निर्माण गर्ने नीति प्रस्ताव गरिएको जानकारी दिनुुभएको थियो ।
प्रतिक्रिया