सोमबार, वैशाख २९, २०८२

एक खर्ब ८८ अर्बको सामान निर्यात हुँदा १३ खर्बको आयात, ११ खर्ब रुपैयाँ व्यापार घाटा

नेपालखोज २०८२ वैशाख २८ गते १७:०५

काठमाडौं । आयात र निर्यात बिचको उच्च असन्तुलनका कारण मुलुकको वित्तीय अवस्था कमजोर देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्र्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको ९ महिनाको प्रतिवेदन अनुसार आयात र निर्यात बिच निकै ठुलो खाडल देखिएको छ । यसले गर्दा पनि मुलुकको आर्थिक अवस्गा कमजोर देखिएको हो ।

राष्ट्र बैंकका अनुसार चालु आवको पछिल्लो ९ महिनामा मुलुकको कुल वस्तु निर्यात ६५ दशमलव २ प्रतिशतले बढेर एक खर्ब ८८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा तीन दशमलव सात प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ९२ दशमलव ६ प्रतिशत, ६ दशमलव ७ प्रतिशत र ५ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, खोटो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, जुश, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा कुल वस्तु आयात १२ दशमलव दुई प्रतिशतले बढेर १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा दुई दशमलव आठ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः सात दशमलव सात प्रतिशत, १४ दशमलव चार प्रतिशत र २४ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल/धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, पामको कच्चा तेल, हवाइजहाजको पार्टपुर्जा, रासायनिक मल, लेख्ने तथा छाप्ने कागज लगायतका वस्तुको आयात घटेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा कुल वस्तु व्यापार घाटा ६ दशमलव ४ प्रतिशतले बढेर ११ खर्ब २१ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा दुई दशमलव आठ प्रतिशतले कमी आएकोे थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १४ दशमलव चार प्रतिशत पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९ दशमलव ८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ३५ अर्ब ५५ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ११ अर्ब २ करोड बराबरको भएको थियो ।

प्रतिक्रिया