सोमबार, वैशाख २९, २०८२

१० प्रतिशतले बढ्यो रेमिट्यान्स, नौ महिनामा भित्रियो झण्डै १२ खर्ब रुपैयाँ

नेपालखोज २०८२ वैशाख २८ गते १७:३७

काठमाडौं । मुलुकले बैदेशिक रोजगारीबाट प्राप्त गर्नै आय अर्थात रेमिट्यान्स रकम बढेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको ९ महिनाको प्रतिवेदन अनुसार रेमिट्यान्स १० प्रतिशतले बढेर ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव २ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह सात दशमलव तीन प्रतिशतले वृद्धि भई आठ अर्ब ७४ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह १५ दशमलव २ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १३ खर्ब एक अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ७४ अर्ब ५४ करोड रहेको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आवको चैत्र मसान्त्सम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या तीन लाख ५८ हजार दुई सय २२ र पुन: श्रम स्वीकृति लिनेको संख्या दुई लाख ४९ हजार ६५२ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः तीन लाख २७ हजार ८४२ र दुई लाख ११ हजार २२६ रहेको थियो ।

प्रतिक्रिया