सोमबार, वैशाख २९, २०८२

निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन् : अर्थमन्त्री पौडेल

नेपालखोज २०८२ वैशाख २९ गते १८:२७

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान गर्दै निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकार निरन्तर सुधारका काममा लागिरहेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सद्वारा आगामी आर्थिक वर्ष २०८२र८३ को राजश्व नीति तथा कार्यक्रम, आर्थिक विधेयक र बजेट तर्जुमाका लागि प्रस्तुत सुझाव ग्रहण गर्दै आज उनले अर्थतन्त्रमा निजी क्षेत्रको योगदानको महत्व राम्रोसँग बुझेकै कारण सरकारले अधिकतम सहजीकरण गरिरहेको उल्लेख गरे ।

अर्थमन्त्री पौडेलले भने, ‘वर्तमान सरकार गठन भएलगत्तै निजी क्षेत्रले लामो समयदेखि भनिरहेका समस्या अन्त्य गर्न कानुन संशोधनलगायतका महत्वपूर्ण प्रयास भएका छन् । त्यसलाई कार्यान्वयन गर्न आवश्यक निर्णय लिएर अघि बढिरहेका छौँ । आर्थिक सुधार सुझाव आयोगले दिएको प्रतिवेदनलाई सरकारले आत्मसात गर्नेछ ।’

आमउपभोक्ताको आम्दानी, रोजगारी, उत्पादन र उत्पादकत्वसहित समग्र राष्ट्रिय आयआर्जन बढाउने सिलसिलामा सरकारले एकपछि अर्को सुधारका कदम अघि बढाएको भन्दै उहाँले अर्थतन्त्रका क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकार गम्भीर र सजग रहेको बताए ।

वर्तमान सरकार गठन भएयता अर्थतन्त्रका प्रयास र सबैजसो परिसूचकमा सकारात्मक प्रगति भएको तथ्यले बताएको उहाँ अर्थमन्त्री पौडेलको भनाइ थियो । ‘सरकार हाल प्राप्त उपलब्धिमै चित्त बुझाएर बस्दैन, थप उपलब्धि हासिल गर्नपर्छ भन्ने मान्यताका साथ आगामी आर्थिक वर्षको बजेट निर्माणमा लागेका छौँ’, उनले भने ।

निजीक्षेत्र अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएकाले यसको आत्मबल र विश्वासलाई प्रवर्द्धन गर्न सरकार सकारात्मक रहेको जनाउँदै अर्थमन्त्री पौडेलले चेम्बरले दिइएका उचित सुझावलाई आवश्यकताका आधारमा ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गरे । -रासस

प्रतिक्रिया