मंगलबार, वैशाख ३०, २०८२

लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

नेपालखोज २०८२ वैशाख ३० गते १३:०२

काठमाडौं । झापाको मेचीनगर नगरपालिका-६ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६१० मिलिग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालिका-१२ बस्ने २५ वर्षीया सरू राई र २० वर्षीया सुजता राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापाको गौरीगंज गाउँपालिका–३ दन्तकाली चोकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ४३० मिलिग्राम सहित कमल गाउँपालिका-६ खैरबारी बस्ने २९ वर्षीय हरि चन्द्र कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरीगंज समेतबाट खटिएको प्रहरीले मे.५ प ३३८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–१६ बैंक रोडबाट नियन्त्रित लागूऔषध लुपिजेसिक १२ एम्पुल, फेनारगन १२ एम्पुल र डाईजेपाम १२ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका–५ बस्ने २८ वर्षीया सानु माझी र २० वर्षीया अनिता माझी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–४ रामकृष्ण टोल बस्ने २९ वर्षीय हरी नेपालीलाई अवैध लागूऔषध गाँजा २ किलो ६ सय ग्राम सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सिआरभि चिप्लेढुङ्गाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

भोजपुरको भोजपुर नगरपालिका–१२ कोटडाँडा बस्ने २२ वर्षीय संजिव श्रेष्ठलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १८२ ट्याब्लेट र स्पास्पेन ७० ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम १७० मिलिग्रामसहित सोही नगरपालिका–१२ बस्ने ३८ वर्षीय बिजय कालुङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र. ०२–००१ ज ०६९२ नम्बरको ईभि गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

नवलपरासी पश्‍चिमको सरावल गाउँपालिका–६ कुर्थावलस्थित सडकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ हजार २० ट्याब्लेट सहित पाल्हीनन्दन गाउँपालिका–१ रामपुरवा बस्ने २७ वर्षीय हृदेश चमारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्‍चिम र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५६ एएच ८८७३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

बर्दियाको बारबर्दिया नगरपालिका–६ कोठारपुरस्थित सडकबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बानियाभार र इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया