काठमाडौं प्लाजामा फोहर पानी प्रशोधन प्रणाली जडान, दैनिक ५ हजार लिटर प्रशोधन क्षमता

काठमाडौं । काठमाडौं प्लाजामा फोहर पानी प्रशोधन गर्ने नयाँ प्रणाली जडान गरिएको छ। दैनिक ५ हजार लिटर फोहर पानी प्रशोधन गर्न सक्ने क्षमता भएको यो प्रणालीले वातावरणमैत्री व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
वरिष्ठ इञ्जिनियर निशा कोइरालाका अनुसार, यो प्रणाली ३.६० मिटर लम्बाइ, १.२० मिटर चौडाइ र १.९८ मिटर उचाइ भएको एक विशेष प्लान्टभित्र राखिएको छ । सो प्लान्टमा पाँच वटा च्याम्बर छन्, जसमा क्रमशः फोहर पानीको चरणबद्ध प्रशोधन गरिन्छ । प्रणालीबारे जानकारी दिँदै इञ्जिनियर कोइरालाले भनिन्, ‘शौचालयबाट आउने केही ठोस पदार्थसहितको फोहर पानी प्लान्टमा पुग्नेबित्तिकै पहिलो चरणमा सेडिमेन्टेसनमार्फत ठोस र तरल छुट्याइन्छ । त्यसपछि एनएरोबिक विधिबाट (अक्सिजन आवश्यक नपर्ने विधि) प्रशोधन सुरु हुन्छ।’
तेस्रो चरणमा अक्सिजन आवश्यक पर्ने एरोबिक विधि अपनाइन्छ। चौथो चरणमा फिल्ट्रेसन र डिसइन्फेक्सन प्रक्रियामार्फत पानीलाई सफा गरिन्छ। प्रशोधित पानी दुर्गन्धरहित हुने र बोटविरुवामा प्रयोग गर्न सकिने बनाइन्छ। स्थानीय तहको सहकार्य र वातावरणीय सचेतनाका लागि उठाइएको यो कदम प्रशंसनीय भएको सरोकारवालाहरू बताउँछन् ।
काठमाडौं जस्तो भीडभाड र फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेको शहरमा यस्तो प्रणालीले हरित र दिगो सहर निर्माणमा मद्दत पुग्ने विश्वास लिइएको छ।
प्रतिक्रिया