अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा
नेपालखोज
२०८२ वैशाख ३० गते १५:४६

धुलिखेल । अवरुद्ध बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको छ । सोमबार रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ माम्तीमा डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको थियो ।
सडक खुलेसँगै आज दिउँसोदेखि यातायातका सम्पूर्ण साधन दुईतर्फी चल्न थालेका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए । रोशी खोलामा बाढी आएपछि सोमबार रातीदेखि सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय भक्तपुरको पहलमा प्रहरी र स्थानीयको सहयोगमा अवरुद्ध सडक खुलाइएको सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारी चन्द्रबहादुर लामाले बताए ।
यसअघि गत वर्ष असोज १० देखि १२ गतेसम्म रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको विभिन्न ठाउँमा क्षति पुगेको थियो । त्यसपछि सडक डिभिजन कार्यालयले खोलाको किनारै किनार भएर अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया