मंगलबार, वैशाख ३०, २०८२

कर्मचारीको सेवासुविधा समयानुकूल बनाउनुपर्ने

नेपालखोज २०८२ वैशाख ३० गते १६:४४

काठमाडौं । सांसद मोहम्मद खालिदले कर्मचारीको सेवासुविधालाई समयानुकूल बनाउन आग्रह गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफलमा भाग लिँदै सांसद खालिदले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रसेवक कर्मचारीको सेवासुविधामा वृद्धि गर्नुपर्नेमा जोड दिए ।

बजेट र सीमित स्रोतसाधनलाई न्यायोचित ढङ्गबाट वितरण र प्राथमिकतामा राख्न सकिएको छैन । आगामी बजेटमा सुधार हुने आशा छ र हुलाकी सडकका बारेमा पनि कुरा आउन सकेन, उनले भने, मौलिक हक र राज्यका निर्देशक सिद्धान्तबारे सम्बोधन हुनु राम्रो छ । तर नागरिक मैत्री सेवा र सुशासनको खाँचो रहेको छ । तराई मधेशमा सिँचाइ सुविधा नपुर्याई मल उपलब्ध नगरी कृषिमा आत्मनिर्भर बन्न नसकिने उनको भनाइ छ ।

गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने र आगामी बजेटमा यी समावेश गर्नुपर्नेमा सांसद खालिदको जोड रहेको छ । यसैगरी, सांसद शेखरकुमार सिंहले नेपाललाई अन्नको भण्डार स्थापित गर्नका लागि कृषि क्षेत्रमा ल्याइएको नीति कार्यान्वयन गर्ने, पर्यटन विकास, अर्थतन्त्र विकास, जीवनउपयोगी शिक्षाको नीति कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

भौतिक पूर्वाधार तथा आवास निर्माणका लागि सरकार गम्भीर छ । समयमा सम्पन्न गर्नेमा मलाई विश्वास छ । गुणस्तरीय खानेपानी उपलब्धको नीति कार्यान्वयन हुनु उत्तिकै जरुरी छ, उनले भने, राजस्व प्रणालीको सुदृढीकरण, उत्पादन र लगानीमैत्री राजस्व तर्जुमा हुनु राज्यका लागि ठोस आधार हो । सिंहले सातै प्रदेशलाई ख्याल गर्दै बजेट ल्याउने विश्वास व्याक्त गरे । यसैगरी, सांसद रुक्मिणी कोइरालाले व्यावसायिकखेती प्रवद्र्धन, बाँझो जमिनको उपयोग, जलासययुक्त आयोजनाको विकास, पर्यटन क्षेत्रको योगदान बढाउन प्रर्वद्धनात्मक कार्यक्रम अगाडि बढाउनुपर्ने बताए ।

प्रतिक्रिया