मंगलबार, वैशाख ३०, २०८२

कर्णालीका १४ स्थानीय तहसँग अपाङ्गता रोकथाम तथा पुन: स्थापना साझेदारी कार्यक्रम

नेपालखोज २०८२ वैशाख ३० गते १८:३७

कर्णाली । कर्णाली प्रदेश सरकारले १४ स्थानीय तहहरूसँग अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका लागि साझेदारी गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको उपचार, रोकथाम तथा पुनःस्थापनाका लागि स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

मन्त्रालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा ‘स्थानीय तहका पदाधिकारी तथा सरोकारवालासँगको अभिमुखीकरण’मा कार्यक्रम सञ्चालनका लागि मन्त्रालय र स्थानीय तहहरूबीच साझेदारी गरिएको छ । साझेदारी कार्यक्रम सञ्चालनका निम्ति मन्त्रालयले सबै स्थानीय तहहरूबाट प्रस्तावना आह्वान गरेको थियो ।

जसमा कर्णालीका ७९ स्थानीय तहमध्ये १४ वटा प्रस्ताव पेस भएको मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काले जानकारी दिए । उनका अनुसार सुर्खेतका भेरीगङ्गा, पञ्चपुरी नगरपालिका, चौकुने, सिम्ता गाउँपालिका, कालीकोटको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी र शुभकालिका गाउँपालिकासँग साझेदारी गरिएको छ ।

यस्तै, रूकुमपश्चिमको चौरजहारी र मुसिकोट नगरपालिका, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, दैलेखको महाबु गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र हुम्लाको सिमकोट गाउँपालिका रहेका छन् । ती स्थानीय तहमा करिब १० हजार अपाङ्गता भएका व्यक्तिहरू यसबाट लाभ लिनसक्ने अनुमान गरिएको यद्यपि कार्यक्रम सञ्चालन भने स्थानीय तहहरूले प्रस्ताव गरेअनुरूप हुने जनाइएको छ ।

मन्त्रालयले जारी गरेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन निर्देशिकाबमोजिम कार्यक्रम सञ्चालन हुनेछ । सोहीअनुरूप अपाङ्गता रोकथाम तथा सहजीकरणसम्बन्धी कार्यक्रम, अपाङ्गता पहिचान र उपचार, अपाङ्गता भएका व्यक्ति र परिवारको जीवनस्तर सुधार लक्षित कार्यक्रम, संस्थागत सुदृढीकरणलगायतका कार्यक्रमको मुख्य क्रियाकलाप समावेश हुने जनाइएको छ ।

निर्देशिकाबमोजिम क्रियाकलाप सञ्चालनका लागि विभिन्न अन्तरराष्ट्रिय तथा राष्ट्रिय सङ्घ, संस्थासँग प्राविधिक सहकार्य गर्ने सक्ने व्यवस्थाअनुसार करूणा फाउण्डेसन नेपाल, एनएफडी–एन र युनिसेफसँग समन्वय सहकार्य गर्ने मन्त्रालयले जनाएको छ । -रासस

प्रतिक्रिया