घुम्टोमा घण्टाघरः मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग

हिमाल लम्साल २०८२ वैशाख ३१ गते १०:०९

वीरगञ्ज (पर्सा) । वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको तीन महिना बित्न लागेको अब केही दिनमात्र बाँकी छ तर मर्मतसम्भार पूरा भएको छैन । गत फागुन ७ गते भत्किएको घण्टाघरको ‘बाल्कोनी’ मर्मतसम्भार चाँडोभन्दा चाँडो सम्पन्न गर्न वीरगञ्जवासीले माग गरेका छन् ।

वीरगञ्ज आउने स्वदेशी तथा विदेशी पर्यटकको मुख्य आर्कषण घण्टाघर घुम्टोमा छ । मर्मतसम्भारको नाममा यसलाई छोपिएको छ । यहाँ घुम्न आउने पर्यटक यस्तो दृश्यबाट खिन्न भएका छन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले घण्टाघरको संरचना जीर्ण भएकाले पनि मर्मतसम्भारका लागि केही बढी समय लागेको जानकारी दिए ।

घण्टाघरको पुरानो संरचना भएकाले मर्मतसम्भारमा केही बढी समय लागेको हो, उनले भने, हामीले घण्टाघरको संरचना मर्मतसम्भार शीघ्र पूरा गर्न व्यवसायीलाई पनि ताकेता गरिरहेका छौँ । वीरगञ्ज महानगरपालिका पूर्वाधार महाशाखाका इञ्जिनियर गौरव झाले घण्टाघरको बाल्कोनीमा अकासे पानीको उचित निकास नहुँदा घामपानीले बाल्कोनीमा क्षति पुर्याएको जानकारी दिए । घामपानीले पनि घण्टाघरको बाल्कोनीमा ‘क्र्याक’ आइसकेको रहेछ ।

घण्टाघरमा उठाइएको पर्खालको इँटा पनि खस्न थालिसकेको रैछ, उनले भने, हामीले घण्टाघरको ‘कोर बिल्डिङ’ नभएर बाल्कोनीको छानालाई फुटाएर फेरि मर्मतसम्भारको काम अघि बढाइरहेका छौँ । इञ्जिनियर झाले घण्टाघरमा देखिएको समस्या पहिचान र लागत ‘इष्टिमेट’ तयार पार्नका लागि केही समय लागेको बताए । घण्टाघरमा भएको क्षतिको विवरण सङ्कलन र समस्या पहिचान गर्न पनि केही समय लाग्यो ।

त्यसपछि क्षतिपछि मर्मतसम्भारका लागि लागत इष्टिमेट तयार पार्न पनि केही समय लागेको नै हो, उनले भने, मर्मतसम्भारका लागि आवश्यक पर्ने ‘स्काफोल्डिङ’ बाँध्नका लागि पनि केही थप समय लाग्यो । उचाइमा भएको ठाउँमा काम गर्ने दक्ष प्राविधिक र जनशक्ति खोज्न पनि केही अप्ठ्यारो भएको थियो । इञ्जिनियर झाले अहिले घण्टाघरको मर्मतसम्भारका काम अघि बढिरहेको दाबी गरे ।

घण्टाघरको अहिले ५० देखि ६० फिटको उचाइमा काम भइरहेको छ, उनले भने, हामीले सोभन्दा मुनिको संरचनालाई पनि जोगाएर मर्मतसम्भारको काम गर्नुपरेको छ । माथि मेसिन वा द्रुतगतिमा काम गर्दा पनि तल्लो संरचनामा क्षति हुने सम्भावना उच्च भएकाले पनि काम ढिलो भएजस्तो देखिएको हो । इञ्जिनियर झाले घण्टाघरको मर्मतसम्भारको काम सक्न अझै डेढ महिनाभन्दा धेरै समय लाग्ने दाबी गरे ।

घण्टाघरको बाल्कोनीमा राखिएका छड खिया लागेर क्षति भएको छ, उनले भने, क्षति भएका छडलाई हटाएर नयाँ छड राखेर मर्मतसम्भार गर्न आवश्यक देखिएको छ । उनले भने, घण्टाघरको बाल्कोनीमा आकाशबाट खसेको पानीको उचित निकासको व्यवस्था नहुँदा पानी चुहिने समस्या देखिएको छ । सोको पनि उचित व्यवस्थापनको काम भइरहेको छ । महानगरले विगत डेढ महिनादेखि घण्टाघरमा स्काफोल्डिङ (खट बाँध्ने, टेका लगाउने) लगायतका काम गरेको थियो ।

अर्काेतर्फ घण्टाघर क्षेत्रमा अत्यधिक सवारीसाधनको चाप हुने भएकाले पनि घण्टाघरलाई चारैतर्फबाट छोपेर काम भइरहेको छ । इञ्जिनियर झाले घण्टाघर मर्मतसम्भारको काम जटिल भएकाले पनि केही बढी समय लागेको बताए । घण्टाघर मर्मतसम्भार २० लाखको लागतमा निर्माण गर्न लागिएको हो । वीरगञ्ज महानगरले २०८२ असार १० गतेसम्म निर्माण सम्पन्न हुनेगरी ठेक्का लगाएको छ ।

वीरगञ्जको घण्टाघर सन् १९७९ फरबरी ८ तारिखमा तयार भएको बताइन्छ । त्यो बेला जापानको योनागो सहरका विद्यार्थीको एकदिनको खाजाको पैसा कटाएर घण्टाघर र त्यहाँ घडी राख्न आवश्यक बजेटको प्रबन्ध मिलाइएको स्थानीय ज्येष्ठ नागरिकहरुको कथन छ । गत चैत २७ गते नेपालका लागि जापानका राजदूत माएदा तोरु पनि वीरगञ्ज आउँदा घण्टाघरबारे चासो व्यक्त गरेको महानगरपालिकाका अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया