बुधबार, जेठ १, २०८२

नेपाल टेलिकमद्धारा रसुवाको उच्च हिमाली क्षेत्रमा फोर जी सेवा बिस्तार

नेपालखोज २०८२ जेठ १ गते १७:३५

काठमाडौं । नेपाल टेलिकमले रसुवाको उच्च हिमाली क्षेत्रमा फोर जी सेवा बिस्तार गरेको छ । प्रसिद्ध एवं सुन्दर पदयात्रा गन्तव्यको रुपमा परिचित रहेको लाङटाङ-क्यान्जिन पदमार्गमा याे क्षेत्रका वासिन्दा तथा पर्यटकलाई लक्षित गरी फोर जी मोबाइल सेवा सञ्चालन गरेको टेलिकमले जानकारी दिएको छ ।

काठमाडौंदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रुपमा चिनिने यस क्षेत्रमा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाले पर्यटकलाई यात्राका दौरानमा सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनसँग साटासाट गर्न सहयोग पुग्नेछ । समुद्री सतहबाट करिब ३८०० मिटरको उचाइमा अवस्थित क्यान्जिन उपत्यकामा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा ४न् सेवा सञ्चालनमा ल्याएको हो ।

रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने र स्याफ्रुबेशीबाट लगभग २ दिनको पैदलयात्रामा पुगिने मनमोहक पर्यटकीय स्थल क्यान्जिन उपत्यका स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो ।

लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने यस उपत्यकामा नेपाल टेलिकमको फोर जी सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरु समेत दूरसञ्चार सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको रहेको छ ।

प्रतिक्रिया