नेपाल बिमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

काठमाडौं । नेपाल बिमा प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा बुधबार विहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।
प्राधिकरणद्वारा आयोजित प्रभातफेरी र्याली बिमा सम्बन्धी विभिन्न जानकारीमूलक सन्देश अङ्कित प्लेकार्ड तथा ब्यानर प्रदर्शन गर्दै भद्रकालीदेखि सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले समग्र बिमा क्षेत्रको विश्वसनीयता बढ्ने गरी जिम्मेवारीपूर्वक इमान्दारिताका साथ काम गर्न बिमा कम्पनीलाई निर्देशन दिए ।
बिमाप्रतिको विश्वसनीयता अभिवृद्धि, सेवामा सुधार, नविनतम् प्रविधि अवलम्बन र पहुँच वृद्धिको प्रक्षेपण सहितको वार्षिक कार्यक्रम ल्याउन बीमा कम्पनीलाई निर्देशन दिंदै अध्यक्ष ओझाले भने, ‘बिमा कम्पनी सरकारबाट बिमा गर्नैपर्ने गरी गरिएका बाध्यकारी क्षेत्रबाट बाहिर निस्कनुपर्छ, नयाँ नयाँ क्षेत्रमा जानुपर्छ, समग्र बीमा क्षेत्रको विकास एवं विस्तारमा आवश्यक सहयोग गर्न प्राधिकरण तयार छ ।’
अध्यक्ष ओझाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम सर्वसाधारणसम्म लाभ पुग्ने गरी उपयोग गर्न समेत बिमा कम्पनीलाई निर्देशन दिए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बिमा कम्पनीले बिमा व्यवसाय मात्र नभई सेवा पनि हो भन्ने भावनाले काम गर्नुपर्ने र बिमा व्यवसायलाई थप मर्यादित एवम् व्यवस्थित बनाउँदै अघि बढ्नुपर्ने बताए ।
त्यस अवसरमा नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणको ५७औं वार्षिकोत्सवका अवसरमा आयोजित ब्याडमिन्टन तथा फुटसल प्रतियोगिताका विजेतालाई प्रमाणपत्र, पदक तथा ट्रफी प्रदान गरेका थिए ।
प्रभातफेरी कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक तथा कर्मचारी, नेपाल बीमक संघ, नेपाल जीवन बिमक संघ, नेपाल लघुबीमक संघ, नेपाल बिमा सर्भेयर संघ, पेशागत बीमा अभिकर्ता संघ र नेपाल इन्स्योरेन्स ब्रोकर संघका अध्यक्ष तथा पदाधिकारी र बिमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कर्मचारीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया