राष्ट्रियसभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल सम्पन्न

काठमाडौं । राष्ट्रियसभामा आगामी आर्थिक वर्ष २०८२ /८३ का लागि प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथिको छलफल सम्पन्न भएको छ । सभाको आजको बैठकमा उक्त छलफलमा भाग लिँदै सांसद सोनाम गेल्जेन शेर्पाले वित्तीय अनुशासन कायम गरी उच्च प्रतिफल दिने योजना अघि बढाउनुपर्नेमा जोड दिए । उनले कानुनी र नीतिगत सुधार गरेर लगानी मैत्री वातावरण बनाउन सुझाव दिए ।
सांसद आनन्दप्रसाद ढुङ्गानाले मौलिक हकको कार्यान्वयन गरी जनतामा आशा जगाउने योजना ल्याउन आग्रह गरे । सांसद जयन्तीदेवी राईले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबीच तालमेल नदेखिएको जनाउँदै यसले जनअपेक्षा पूरा गर्न नसक्ने बताइन् ।
सांसद पूजा चौधरीले कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने योजना ल्याउन सुझाव दिँदै चुरे संरक्षणमा ध्यान दिन आग्रह गरिन् । सांसद मनरुपा शर्माले आगामी आवको बजेटको सिद्धान्त र प्राथमिकताले जनतामा आशा जगाउन नसकेको बताइन् ।
सांसद जितजङ्ग बस्नेतले संरचनात्मक सुधारमा जोड दिँदै मौलिक हक र राज्यका निर्देशक सिद्धान्त कार्यान्वयनको योजना ल्याउन सुझाव दिए ।
सांसद उदयबहादुर बोहराले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा उठेका विषयलाई बजेटमा समावेश गर्नुपर्ने बताए । सांसद कृष्णप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा थुप्रै सकारात्मक विषय रहेको जनाउँदै सोहीअनुसारको बजेट निर्माण गर्न सुझाव दिए ।
सांसद घनश्याम रिजालले नीति तथा कार्यक्रममाथिको छलफलबाट प्राप्त सुझाव विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा नसमेटिएको उल्लेख गर्दै यसले जनअपेक्षा पूरा गर्न नसक्ने बताए ।
सांसद युवराज शर्माले प्रस्तुत सिद्धान्त र प्राथमिकताले स्पष्ट गन्तव्य किटान गरेको जनाउँदै छलफलका क्रममा उठेका विषयलाई बजेटमा समावेश गर्न सुझाव दिए । सांसद दुर्गा गुरुङले समावेशी विकास र सामाजिक न्याय कायम गर्दै विकासको लाभमा आम नागरिकको पहुँच स्थापित गर्ने लक्ष्य विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले लिएको बताइन् ।
सांसद विष्णुदेवी पुडासैनीले सिद्धान्त र प्राथमिकतामा समेटिएका विषय कार्यान्वयन गर्न राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच कार्यसम्पादन सम्झौता हुनुपर्ने बताइन् ।
सांसद उर्मिला अर्यालले विकासको लाभलाई समावेशी र सामाजिक न्यायमा प्रत्याभूत गर्ने, स्वाधिन राष्ट्रिय अर्थतन्त्रमा सबैको सहभागिताको उपेक्षा गरिएको सिद्धान्त र प्राथमिकता दिशाहीन भएको बताइन् ।
सांसद इन्दिरादेवी गौतमले प्रस्तुत आगामी आवको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले मुलुकलाई समृद्धितर्फ डोहोर्याउने विश्वास व्यक्त गरिन् ।
प्रतिक्रिया