गाजाका अस्पतालहरूमा प्रसूति सेवा गम्भीर रूपमा प्रभावित : संयुक्त राष्ट्रसंघ

नेपालखोज २०८२ वैशाख ३१ गते २०:१४

गाजा । करिब सत्तर दिनदेखि कुनै पनि राहत सामग्री गाजामा प्रवेश गर्न नपाएको कारण प्रसूति सेवा गम्भीर रूपमा प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय कार्यालयका अनुसार, हाल गाजामा केवल पाँचवटा अस्पतालले मात्र सुत्केरी सेवा दिन सक्ने अवस्था छ ।

औषधि, उपकरण तथा अन्य आवश्यक वस्तुको अभावका कारण त्यहाँ कार्यरत स्वास्थ्यमार्गदर्शकहरूले कठिनाइ भोगिरहेका छन् । झण्डै सत्र हजार गर्भवती तथा दूध पिलाइरहेका आमाहरू कुपोषणबाट पीडित छन् र उनीहरूलाई तत्काल स्वास्थ्य तथा पोषण सेवा आवश्यक रहेको जनाइएको छ ।

स्वास्थ्यसम्बन्धी विश्व संस्था अनुसार, गाजाको छत्तीस अस्पतालमध्ये एक तिहाइ मात्र आंशिक रूपमा सञ्चालनमा छन्, भने प्राथमिक उपचार केन्द्रमध्ये करिब तीस प्रतिशत मात्र कुनै न कुनै रूपमा कार्यरत छन् । बारम्बार हुने आक्रमण, इन्धनको अभाव र स्वास्थ्यकर्मीको कमीले सेवा दिन कठिन भएको छ ।

कान युनिस नगरको एकमात्र सर्जरी सेवा दिने अस्पतालमाथि भएको आक्रमणमा केही व्यक्तिहरू घाइते भएका छन्। उक्त अस्पतालमाथि युद्ध सुरु भएयता चौथो पटक आक्रमण भएको हो ।

संयुक्त राष्ट्रसंघकी उप मानवीय समन्वयकर्ताले घटनास्थलको निरीक्षण गरी त्यहाँ कार्यरत स्वास्थ्यकर्मी तथा विदेशी चिकित्सकहरूसँग भेट गरे । उनले स्वास्थ्य संस्थामाथि गरिएका आक्रमणहरू पूर्ण रूपमा अस्वीकार्य भएको भन्दै यस्ता घटनाहरू तुरुन्त बन्द हुनुपर्ने माग राखे ।

युद्धका बीच पनि, संयुक्त राष्ट्रसंघ र साझेदार संस्थाहरूले बालबालिकालाई बम तथा विस्फोटक वस्तुबाट कसरी बच्ने भन्ने तालिम दिइरहेका छन् । देइर अल बलाहमा रहेको विद्यालयमा विस्फोट हुँदा सयौँ परिवार विस्थापित भई त्यहाँ बसोबास गरिरहेका छन् । उनीहरूलाई खाना, पानी र शौचालयको व्यवस्था अत्यन्तै आवश्यक रहेको छ ।

संयुक्त राष्ट्रसंघले जनाएअनुसार, हाल राहत सामग्री पु¥याउने अनुमति बारम्बार रोकिने गरेको छ । मंगलबारको दिन मात्रै, ग्याँस, अस्पताल तथा उद्धार गाडीका लागि इन्धन ल्याउने अनुमति मागिएका ११ मध्ये ५ वटा अनुरोध अस्वीकार गरिएको थियो ।

संयुक्त राष्ट्रसंघले सबै मानवताको आधारमा गाजा भित्र राहत सामग्री तथा अत्यावश्यक सेवा पु¥याउन दिइनुपर्ने माग गर्दै, जिम्मेवार पक्षले अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्नुपर्ने स्मरण गराएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया