१० महिनामा दुई अर्ब ६१ करोड राजस्व संकलन

झापा । आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा दुई अर्ब ६१ करोड ६६ लाख १० हजार रूपैयाँ राजस्व संकलन गरेको छ ।
गत आवको सोही अवधिको तुलनामा यो ९ दशमलव ५६ प्रतिशतले बढी हो । गत आवमा दुई अर्ब ३८ करोड ८३ लाख ६४ हजार रूपैयाँ राजस्व संकलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले राससलाई जानकारी दिनुभयो । चालु आवमा चार अर्ब ६१ लाख रूपैयाँ राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य उहाँले सुनाए ।
गत आवको भन्दा राजस्व संकलन बढेको भए पनि चालु आवको १० महिनाको लक्ष्यको ८३ दशमलव ०३ प्रतिशत मात्रै राजस्व संकलन भएको प्रमुख कर अधिकृत काफ्लेले बताए । कार्यालयले १० महिनामा आयकरबाट एक अर्ब १६ करोड ९ लाख रूपैयाँ, ब्याजबापत आठ करोड ६५ हजार रूपैयाँ, मूल्य अभिवृद्धि करबापत ८६ करोड ५४ लाख ९७ हजार रूपैयाँ, अन्तःशुल्कबापत ४७ करोड ४६ लाख ४२ हजार रूपैयाँ राजस्व संकलन गरेको छ ।
‘कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता चुक्ता नगरेका करदाताको बैंक खाता रोक्का, जग्गा पास एवं नामसारी रोक्कालगायत कानुनी कारबाही हुने गरेको छ’, प्रमुख कर अधिकृत काफ्लेले भने ।
प्रतिक्रिया