शुक्रबार, जेठ ३, २०८२

प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड

नेपालखोज २०८२ जेठ ३ गते १२:५७

काठमाडौं । प्रतिनिधिसभाका सदस्यले मनसुन सुरु हुन लाग्दा प्राकृतिक जोखिम र क्षति न्यूनीकरण गर्न तीनै तहका सरकारको समन्वय आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको आजको बैठकको शून्य समयमा सांसद अर्जुन नरसिंह केसीले नेपाल प्राकृतिक जोखिमको उच्चतम विन्दुमा रहेकाले वर्षायाम सुरु हुन लागेसँगै सतर्कता अपनाउनुपर्ने बताए । उनले भने, ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सुझाव सरकारले गम्भीर रूपमा लिनुपर्छ । तीनै तहको समन्वय र आवश्यक बजेट विनियोजन गर्न आवश्यक छ ।’

सांसद अम्बरबहादुर रायमाझीले पनि देशका राजमार्गको अवस्था बिग्रिँदो अवस्थामा रहेकाले मनसुन सुरु हुन लाग्दा समयमै ध्यान दिनुपर्र्ने बताए ।

सांसद अच्युतप्रसाद मैनालीले त्रिभुवन विश्वविद्यालयलाई गुणस्तरीय बनाउन सके विदेशी विद्यार्थीलाई समेत आकर्षित गर्न सकिने बताए । सांसद अनिशा नेपालीले महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सल्यानका १० वटै स्थानीय तहमा करोडौँ बेरुजु देखिएकाले यसका कारणबारे छानबिन हुनुपर्ने बताए ।

सांसद डा अमरेशकुमार सिंहले उखु र दूध किसानको पैसा समयमा दिनुपर्ने र महँगी नियन्त्रणमा जोड दिनुपर्ने बताए । सांसदद्वय अमृतादेवी अग्रहरी र आश्माकुमारी चौधरीले आगामी आर्थिक वर्षको बजेट जनतामुखी र कृषि क्षेत्र सुधार हुनेगरी ल्याउनुपर्ने बताए ।

प्रतिक्रिया