राज्य व्यवस्थाबाट समितबाट निजामती विधेयक पारित

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयक पारित गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले परिमार्जनसहित विधेयक पारित गर्ने निर्णय गरेको हो ।
केही प्राविधिक विषय मिलाउने गरी संघीय निजामती सेवा विधेयक पारित भएको घोषणा समिति सभापति रामहरि खतिवडाले गरे । निजामती कर्मचारीलाई अवकाशपछिको नियुक्तिमा ‘कुलिङ पिरियड’ र ६० वर्षे अनिवार्य अवकाशको कार्यान्वयनको मोडालिटी समितिमा अन्तिमसम्म सबैभन्दा पेचिलो बनेका थिए ।
यिनमा सहमति जुटेपछि विधेयक पारित भएको हो ।समितिबाट पारित भएअनुसार संसदबाट ऐन जारी भए अब निजामती कर्मचारीलाई दुई वर्षको कुलिङ पिरियड लागू हुनेछ ।
अवकाश मात्र होइन, बहालवाला निजामती कर्मचारी नै संवैधानिकलगायतको महत्त्वपूर्ण नियुक्तिमा जान अस्वस्थ प्रतिस्पर्धा गरेपछि यसलाई रोक्न समितिले कुलिङ पिरियडको व्यवस्था गरेको हो । कुलिङ पिरियड राख्ने विषयमा सैद्धान्तिक सहमति भए पनि कति राख्ने भन्नेबारे भने समितिमा विवाद थियो । अन्ततः समितिले यसलाई टुंग्याएको हो ।
शुक्रबार समिति बैठकमा आएका रमेश लेखकले दुईवर्षे कुलिङ पिरियड राख्न उपयुक्त हुने निष्कर्ष सरकारका तर्फबाट सुनाएका थिए । यसैमा समितिले पनि सहमति जनायो। ६० वर्षे अनिवार्य अवकाशको व्यवस्था कार्यान्वयनको मोडालिटीमा समिति सहमतिमा पुगेको छ । ऐन जारी भएपछिको पहिलो वर्ष ५९ र दोस्रो वर्षदेखि ६० वर्ष कायम गर्नेगरी व्यवस्था गर्न समिति सहमत भएको छ।
प्रतिक्रिया