‘द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ’

नेपालखोज २०८२ जेठ २ गते १६:५८

काठमाडौं । रक्षामन्त्री मानवीर राईले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनले द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताएका छन् ।

जर्मनीको बर्लिनमा आयोजित संयुक्त राष्ट्रसङ्घ शान्ति सैनिक खटाउने ८० भन्दाबढी देशका रक्षा तथा परराष्ट्रमन्त्री सहभागिता रहेको सम्मेलनमा उहाँ त्यस क्रममा नेपाली शान्ति सैनिकले उल्लेखनीय योगदान पु¥याएको कुरा बताए ।

उनले संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपालले सन् १९५८ देखि नै विनाशर्त निरन्तर शान्ति सैनिक खटाउँदै आएको उल्लेख गर्दै संयुक्त राष्ट्रसङ्घको अनुरोधमा नेपाल आगामी दिनमा दश हजारसम्म शान्ति सैनिक खटाउन तयार रहेको प्रतिबद्धता जाहेर गरे ।

नेपाल द्रुत तैनाथी कार्यशाला आयोजना गर्नसमेत तयार रहेको बताउँदै मन्त्री राईले द्वन्द्वग्रस्त मुलुकमा यौनशोषण र दुर्व्यवहारमा परेका पीडितका लागि सहयोग गर्न नेपालले संयुक्त राष्ट्रसङ्घको ट्रष्ट फन्डमा १६ हजार अमेरिकी डलर योगदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

रक्षामन्त्री राईले शान्ति स्थापना कार्यअन्तर्गत उच्च नेतृत्व तहमासमेत रही नेपालले काम गर्ने अवसर प्राप्त गर्ने अपेक्षा राखेको मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिए । हाल शान्ति स्थापनाको सुधार र सवलीकरणका लागि भइरहेका प्रयासको सराहना गर्दै उनले शान्ति स्थापना कार्यमा खटिने मिसनमा महिलालाई सहभागी गराउने विषयलाई नेपालले उच्च महत्त्व र प्राथमिकता दिएको स्पष्ट पारे ।

सम्मेलनका अवसरमा मन्त्रीले मानव अधिकारका लागि उच्च आयुक्त कार्यालयका सहायक महासचिव इल्जे ब्राण्डस् केहरिससँग भेट गरेका पनि प्रवक्ता आचार्यले जानकारी दिए । त्यस अवसरमा मन्त्री राईले अन्तरराष्ट्रिय मानव अधिकार र कानुनलाई आफू संलग्न सबै शान्ति स्थापना कार्यमा पूर्ण रूपमा पालन गर्न नेपाल प्रतिबद्ध रहेको बताए । सहायक महासचिव केहरिसले नेपालले नमुनाका रूपमा काम गर्नसक्ने सम्भाव्यता रहेको बताए ।

यसैगरी, माननीय रक्षामन्त्री र चीनका रक्षामन्त्री दोङ जुनबीच भएको भेटवार्तामा दुवै मुलुकका साझा सरोकारका विषयलगायत द्विपक्षीय हितका विषयमा छलफल भएको पनि रक्षामन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया