शुक्रबार, जेठ ३, २०८२

यू-१६ बैतडी छनोटः एनसिसीले उपाधि जित्यो

नेपालखोज २०८२ जेठ ३ गते १९:२१

बैतडी । एनसिसी मेन्स यू-१६ इस्ट जोन कपअन्तर्गत जिल्ला छनोटको उपाधि निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) ले हात पारेको छ । बैतडीमा आज सम्पन्न अन्तिम प्रतिस्पर्धामा पाटन भ्याली क्रिकेट क्लबलाई ३१ रनले पराजित गर्दै एनसिसी च्याम्पियन बनेको हो ।

एनसिसीले दिएको ९५ रनको लक्ष्य पछ्याएको भ्याली १२ दशमलव पाँच ओभरमा ६३ रनमा समेटियो । भ्यालीका अमन विष्टले २४ रनको योगदान दिए भने अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । एनसिसीका रोशन बोहरा र शिरिष बोहराले तीन÷तीन र नविनसिंह भाटले दुई विकेट लिए । यसअघि दशरथचन्द क्रिकेट रङ्गशाला सुन्दरखालीमा पहिला ब्याटिङ गरेको एनसिसीले निर्धारित १५ ओभरमा पाँच विकेटको क्षतिमा ९४ रन बनाएको थियो ।

एनसिसीका कृष्ण बोहराले अविजित ४७ रन जोड्दा, विक्रम बोहराले १९ रन हिर्काए । बलिङतर्फ भ्यालीका तेजकिरण विष्टले तीन विकेट झारे । एनसिसीका रोशन बोहरा प्लेयर अफ द फाइनल चुनिएका आयोजकले जनाएको छ । विजेता र उपविजेता टोलीलाई सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेशबहादुर बोहरा, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्द, सचिव सिद्धराज बोकटीलगायतले पुरस्कार वितरण गरेका छन् ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा गत वैशाख २६ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका सात टिमको सहभागिता थियो । छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाको टोलीमा समावेश गरिनेछ । एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले एनसिसी मेन्स यू-१६ इस्ट जोन कप-२०२५ को छनोटका लागि यही जेठमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्दैछ ।

प्रतिक्रिया