जापानले नेपाललाई थप ५७ करोड ३० लाख येन अनुदान उपलब्ध गराउने

काठमाडौं । ‘धुलिखेल अस्पताल ट्रमा एण्ड इमर्जेन्सी सेन्टर(आन्तरिक अनुदान) को सुधार परियोजना’ का लागि जापान सरकारले थप ५७ करोड ३० लाख येन अनुदान दिने भएको छ ।
आज अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र जापानका संसदीय उपविदेशमन्त्री इकुइना अकिकोको उपस्थितिमा अर्थ मन्त्रालयका अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनिराम शर्मा र नेपालस्थित जाइकाका प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
नेपाल सरकारको तर्फबाट अर्थमन्त्री पौडेल र जापान सरकारको तर्फबाट सगरमाथा संवाद कार्यक्रममा सहभागी हुन आएका संसदीय उपविदेशमन्त्रीसहित अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, नेपालका लागि जापानका राजदूत मैदा तोरु रेलगायतको सहभागितामा सम्झौतामा हस्ताक्षर भएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री पौडेलले नेपाल–जापानबीच स्वार्थरहित सम्बन्ध रहेको बताउँदै जापान नेपालको अत्यन्तै घनिष्ट मित्रराष्ट्र रहेको उल्लेख गरे । उनले भने, नेपालको विकासमा जापानबाट महत्त्वपूर्ण सहयोग प्राप्त गर्दै आएका छौँ, आगामी दिनमा जापानको सहयोग अझ फराकिलो हुनेछ भन्ने विश्वाससहित सहयोग र सहकार्यको अपेक्षा गर्दछौँ ।
उपप्रधानमन्त्री पौडेलले सगरमाथा संवादको क्रममा नेपाल भ्रमणमा आएका जापानी उपविदेशमन्त्रीलाई धन्यवाद दिँदै गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि निमन्त्रणा दिए । उनले भने, मन्त्रीलाई यो पटक गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि निवेदन गर्दछु । यो पटक सम्भव नभए अर्को पटक भए पनि लुम्बिनी पुग्नुहोस् भनेर निम्ता गर्न चाहन्छु ।
प्रतिक्रिया