शनिबार, जेठ ४, २०८२

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : अध्यक्ष दाहाल

नेपालखोज २०८२ जेठ ३ गते २१:२९

अमरगढी (डडेल्धुरा) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आवाज सरकारसमक्ष पुर्याउने बताएका छन् ।

बैतडीको पाटनबाट ‘जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ सुरु गरी यहाँ आइपुगेका उनले सबै समुदायसँग संवाद गर्दै जनताको आवाज सरकारसमक्ष पुर्याउने लक्ष्य लिएको बताए ।

बजेट अगाडि यो अभियान सकेर हामी यहाँका जनताको माग र आवश्यकता सरकारसमक्ष राख्न चाहन्छौँ, पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले भने, विशेषतः तराईका मजदुर र किसानका माग सम्बोधन गर्न सरकारलाई पहिले नै आग्रह गरिसकेको छु ।

उनले मधेस आन्दोलन समाधानदेखि संविधान कार्यान्वयनसम्म माओवादीको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै वर्तमान सत्तालाई जनमुखी बनाउन पहल आवश्यक रहेको बताए । अध्यक्ष दाहालले परशुराम, अजमेरु कोट क्षेत्रको पर्यटन विकास, डडेल्धुरा–भारत सिमानामा भन्सार स्थापनाजस्ता विषयलाई राष्ट्रिय मुद्दा बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पार्टीका महासचिव देव गुरुङले सहिदहरूको योगदानलाई स्मरण गर्दै जनआन्दोलन र सङ्घर्षले ल्याएको परिवर्तनलाई संस्थागत गर्न सबै क्षेत्र गम्भीर हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया