नाइजेरियामा जिहादी आक्रमण : पाँच सैनिकको मृत्यु

कानो, नाइजेरिया । क्यामरुनसँग सिमाना जोडिएको उत्तरपूर्वी नाइजेरियाको सैनिक क्याम्पमा भएको जिहादी आक्रमणमा पाँच जना बहुराष्ट्रिय सुरक्षा बलका सैनिकहरूको मृत्यु भएको दुई जना सैनिक अधिकारीहरूले जानकारी दिएका छन् ।
इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तका लडाकुहरूले वुल्गो नामक सहरमा रहेको नाइजेरिया र क्यामरुनका सैनिकहरूको संयुक्त क्याम्पमा शुक्रबार बिहान सबेरै हमला गरेका थिए । त्यसपछि सैनिक र लडाकुहरूबीच भीषण भिडन्त भएको थियो । चार जना नाइजेरियाली र एक जना क्यामरुनका सैनिक मारिएका छन्, एक जना सैनिक अधिकारीले भने । लडाइँमा नौ जना आक्रमणकारी पनि मारिएका छन्, उनले थपे । दोस्रो एक अधिकारीका अनुसार लडाकुहरू सैनिकहरूलाई पछि हट्न बाध्य पार्दै क्याम्प कब्जा गर्न सफल भएका थिए ।
केही महिनाअघि सोही क्याम्पमा भएको यस्तै आक्रमणमा २५ जना क्यामरुनका सैनिक मारिएका थिए । नाइजेरिया, क्यामरुन, बेनिन, चाड र नाइजरले संयुक्त रूपमा बनाएको सुरक्षा बलले सिमावर्ती क्षेत्रमा सशस्त्र समूहहरूको विरुद्धमा अभियान चलाउँदै आएको छ । तर हाल नाइजरले फिर्ता लिएको निर्णय र चाडको सम्भावित बहिर्गमनले उक्त अभियानमा अवरोध पुगेको छ । शुक्रबारको आक्रमणमा लडाकुहरूले दुईवटा बारुद प्रतिरोधी बख्तरबन्द गाडी, पाँचवटा सैनिक गाडी जलाइदिएका थिए ।
साथै, उनीहरूले स्थानीय शिकारीहरूका मोटरसाइकलहरू पनि लुटेर लगेका थिए । दुबै अधिकारीहरूलाई सार्वजनिक रूपमा बोल्न अनुमति नभएकाले नाम गोप्य राखिएको छ । इस्लामिक स्टेटसँग सम्बद्ध लडाकु समूह र यसको प्रतिस्पर्धी बोको हरामले विशेष गरी बोरनो प्रान्तमा सैनिक क्याम्पहरूमा आक्रमण तीव्र पारेका छन् । बोरनो प्रान्त सन् २००९ देखि चलिरहेको विद्रोहको मुख्य केन्द्र रहँदै आएको छ ।
प्रतिक्रिया