स्वच्छ ऊर्जा उत्पादन क्षमता वृद्धिमा जोड

काठमाडौं । सरोकारवालाहरुले दिगो विद्युत् उत्पादनलाई स्वच्छ ऊर्जाको उत्पादन क्षमता वृद्धिमा जोड दिएका छन् । शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनको पाँचौँ समानान्तर सत्रअन्तर्गत ‘भविष्यको ऊर्जाः स्वच्छ ऊर्जाको सदुपयोग’ विषयमा उनीहरुले ऊर्जा उत्पादन बढाएर निर्यात प्रवद्धनका लागि स्वच्छ ऊर्जाको सदुपयोग बढाउन आवश्यक रहेको बताए ।
सत्रमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जलवायुजन्य चुनौतीका कारण पानीको स्रोत घट्ने र जलविद्युत् उत्पादनमासमेत असर पुग्ने बताए ।
शाक्यले उद्योगहरूलाई विद्युतीकरण गर्नका लागि भरपर्दो ऊर्जा आवश्यक रहेको बताए । नेपालको प्रसारण प्रणाली निकै कमजोर रहेको भन्दै उनले भने, ‘हिजो साँझ मात्रै धेरैपटक लाइन काटियो, किनभने हाम्रो प्रसारण प्रणाली निकै कमजोर छ, एउटा लिङ्क बिग्रिएपछि सिङ्गो प्रणाली नै बन्द हुन्छ ।’
अहिले प्रसारण सञ्जालमा निजी क्षेत्रको सहभागिता पनि खोजिएका र यसका लागि नियामक संरचना आवश्यकपर्ने उनको भनाइ छ । यसैगरी काठमाडाैं विश्वविद्यालयका उपकुलपतिका डा अच्युतप्रसाद वाग्लेले हरित ऊर्जा उत्पादन र प्रयोग प्रवद्र्धन गर्न निजी क्षेत्र र सरकारलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।
जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण प्रभाव कार्य प्लेटफर्म केन्याका निर्देशक डा अदिति मुखर्जीले उच्चस्तरीय क्षमता विकास, प्रविधि हस्तान्तरण र समुदायलाई ऊर्जा रूपान्तरणको केन्द्रमा राख्नुपर्नेमा जोड दिए । अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सीका महानिर्देशक फ्रान्चेस्को ला क्यामेराले सौर्य ऊर्जाजस्ता नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि सार्वजनिक कोष स्थापनामा जोड दिए ।
सत्रको सहजकर्तासमेत रहनुभएका एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीका प्राध्यापक शोभाकर ढकालका अनुसार स्वच्छ ऊर्जाको सदुपयोग भनेको सौर्य, वायु, जलविद्युत्, भू-तापीय र बायोमासजस्ता नवीकरणीय ऊर्जा स्रोतको उपयोग गरी समाजलाई ऊर्जा प्रदान गर्ने, जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने, जलवायु परिवर्तनलाई न्यूनीकरण गर्ने र दिगो विकास हासिल गर्ने लक्ष्य राखेको एक विश्वव्यापी प्रयास रहेको बताए ।
प्रतिक्रिया