शनिबार, जेठ ४, २०८२

नदी कटान रोक्न स्थानीयद्वारा श्रमदान

नेपालखोज २०८२ जेठ ४ गते २०:४०

मन्थली (रामेछाप) । रामेछापको मन्थली नगरपालिका-८ गाइखुराका माझी समुदायका स्थानीयले नदी कटान गर्न हप्तौँदेखि श्रमदान गरिरहेका छन् ।

गत असोज १२ गते आएको बाढीका कारण आफ्नो बस्ती नजिकको तटबन्धन तामाकोशी नदीले बागाएपछि उक्त तटबन्धन पुनः निर्माण गर्न माझी समुदायका स्थानीयले श्रमदान गरी बस्ती संरक्षणमा जुटेका हुन् ।

बाढीले बस्तीमा क्षति पुर्‍याएको बताउँदै जिल्ला विपद् व्यवस्थापन समितिमार्फत उपलब्ध गराइएको रु पाँच लाखबाट करिब १५ मिटर जाली भर्ने खेलमैदान सम्याउने र खानेपानीको इनार संरक्षण गर्ने काममा सकिएको स्थानीय बालकृष्ण माझीले जानकारी दिए ।

अझै तटबन्धनको काम गर्नुपर्ने भएकाले आफूहरूले एक हप्तासम्म श्रमदान गरी करिब एक सय मिटर लम्बाइको तटबन्धनका लागि ढुङ्गा बोक्ने र मिलाउने काम गरिएको उनले बताए । श्रमदानपछिको गरिएका तटबन्धनका कारण समुदायका ८५ घरधुरीसहित बस्ती, नजिकै रहेको पक्की सडक, मन्दिर र खेलमैदान जोगिने स्थानीय विशाल माझीले बताए ।

नजिकिँदै गएको बर्सातलाई मध्यनजर गर्दै उक्त काम गरिएको उहाँको भनाइ छ । सकारात्मक कामका लागि राज्यको भर पर्नु नपर्ने भन्दै समुदायको सक्रियतामा भएका यस्ता कामले सकारात्मक सन्देश दिने धारणा राखे । -रासस

प्रतिक्रिया