गोरखाको छेपेटारमा सत्रौं शताब्दीको भग्नावशेष भेटियो
गोरखा । जिल्लाको गोरखा नगरपालिका-१० छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटिएको छ । पुरातत्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले नौ दिन लगाएर गरेको उत्खननबाट यहाँ भेटिएका भग्नावशेष सत्रौँदेखि अठारौं शताब्दीका मन्दिर हुनसक्ने अनुमान गरिएको हो ।
छेपेटारको महादेवस्थान संरक्षण तथा विकास समितिद्वारा गत वर्ष सो क्षेत्रमा लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माण गर्ने क्रममा पुरातात्विक संरचनाको भग्नावशेष फेला परेको थियो ।
काम रोकेर समितिले पुरातत्व विभागलाई खबर गरेको थियो । त्यसको करिब एक वर्षपछि विभागको टोलीले स्थलगत अध्ययन थालेको हो । अहिले भग्नावशेषको ७० प्रतिशत मात्र उत्खनन भएको विभागले जनाएको छ ।
सो स्थानमा २०३४ सालमा राममन्दिर बनाउँदा पनि केही भग्नावशेष नष्ट भएका थिए । उनका अनुसार भेटिएको गारो ७० सेन्टिमिटर चौडाइको छ ।
विस्तृत अध्ययनका लागि दक्षिण–पूर्वतर्फ रहेको राममन्दिरतर्फको भाग पनि उत्खनन गर्नुपर्ने अधिकारीले जानकारी दिए ।
हाल अध्ययन भएको क्षेत्रलाई प्लास्टिकले ढाकेर माथिबाट माटोले संरक्षण गरिने उनले जानकारी दिए । तत्काल सो क्षेत्रमा उत्खनन नगर्न र कुनै पनि संरचना निर्माण नगर्न विभागले स्थानीयलाई आग्रहसमेत गरेको छ । -रासस
प्रतिक्रिया