इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय

तेहरान । इरानको सर्वोच्च न्यायालयले शनिबार तातालु भनिने पपगायक अमिर हुसेन मघसौडलुलाई अल्लाहको निन्दा गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ ।
सन् २०२३ को डिसेम्बरमा टर्कीबाट सुपुर्दगी गरिएका तातालुलाई सुरुमा तेहरानको फौजदारी अदालतले मुस्लिम धर्म र यसका पवर्तकको निन्दा गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको थियो । सर्वोच्चले त्यो फैसलालाई उल्टाउँदै मुद्दालाई अर्को अदालतमा पठाएको थियो । र, त्यहाँबाट उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।
न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरले भने, ‘यो फैसला अब पुष्टि भएको छ र कार्यान्वयनका निम्ति तयारी भइरहेको छ ।’ उनले थपे, ‘पपगायक तातालुका वकिलले पुनः सुनुवाइ र क्षमादानका निम्ति दुई अनुरोध दायर गरेका छन्, यो हाल पुनरवलोकनको क्रममा छ ।’
‘यी अनुरोधहरू औपचारिक रूपमा दर्ता भएका छन् र पुनरवलोकनको क्रममा छन्,’ जहाँगीरले भने, ‘उचित समयमा निर्णय घोषणा गरिनेछ ।’ जहाँगीरले पहिलोपटक जनवरीमा मृत्युदण्डको घोषणा गरे पनि फैसला अन्तिम नभएको उल्लेख गरेका थिए ।
इरानी गायकलाई यसअघि ‘भ्रष्टाचार र वेश्यावृत्तिलाई बढावा दिएको’ र इस्लामिक गणतन्त्रविरुद्ध ‘प्रोपोगान्डा’ फैलाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको थियो । उनले हाल उक्त सजाय भुक्तानी गरिरहेका छन् ।
तातालुलाई स्व. राष्ट्रपति इब्राहिम राइसीलगायत रूढिवादी राजनीतिज्ञको सहयोग थियो । सन् २०१५ मा उनले आणविक सम्झौताको समर्थनमा एउटा गीत सार्वजनिक गरेका थिए, जसलाई उदारवादी हसन रुहानीको शासनकालमा सरकारी सञ्चारमाध्यमले प्रचार गरेको थियो । पक्राउ र सुपुर्दगी गर्नुअघि सन् २०१८ देखि तातालु इस्तानबुलमा बस्दै आएका थिए । -रासस/एएफपी
प्रतिक्रिया