स्थानीय आफैंले बनाउन थाले खोलामा पुल

तुलसीपुर (दाङ) । दाङ–रोल्पा सडकखण्डअन्तर्गत विजौरी–होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन । पुल नहुँदा बर्खामा आवतजावत नै ठप्प हुन्छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको व्यापारिक थलो भनेकै दाङको विजौरी हो ।
त्यतिमात्र होइन्, बिरामी पर्दा, उच्च शिक्षाका लागि विद्यार्थी पनि त्यही बाटो आउनुपर्छ । तर, ग्वारखोलामा मोटरेबल पुल नहुँदा वर्षामा आवतजावतमा निकै समस्या पर्ने गर्छ भने बर्सेनि मानिस पनि बगाउने गर्छ ।
ग्वारखोलामा पुल निर्माणका लागि मात्र चालु वर्षमा रु एक करोड ३० लाख बजेट परेको थियो । तर, त्यो बजेटअनुसार पनि काम हुन सकेन । त्यहाँको बजेट अन्तै गयो ।
‘अहिले बजेट आएको थियो, काम त सुरु होला भन्ने थियो’, स्थानीय प्रशान्त पुनले भने, ‘त्यो बजेट पनि अन्तै गयो भन्ने सुनिन्छ ।’
विसं २०७० मा उक्त सडकको ट्रयाक खोलिएको भए पनि १२ वर्षसम्ममा पनि पुल नबनेपछि स्थानीय आफैँले अहिले पुल निर्माण थालेका छन् । स्थानीय सबैले श्रमदान गरेर मोटरसाइकल हिँड्ने गरी पुल निर्माण सुरु गरिएको उनले बताए ।
‘वर्षा आउँदैछ, हिँड्नलाई पुल छैन, आएको बजेटले पनि काम हुँदैन’, पुनले भने, ‘वर्षामा दुःख बिरामी पर्दा अस्पतालसम्म लिने त हुनुपर्यो, त्यही भएर स्थानीयले आफैँ श्रमदान गरेर पुल निर्माण गर्न थालेका हौँ ।’
सिमेन्ट र सरिया सहयोग मागेर पुलको श्रमदान आफैँ गर्न लागेको स्थानीय लालबहादुर पुनले बताए । सरकारले बाटो बनाए पनि पुल नबनाउँदा यसरी सास्ती खेप्नुपरेको उनको गुनासो छ । पुल नबन्दा छ महिना उक्त सडक सञ्चालन हुने र छ महिना ठप्प हुने अवस्था आएको पुनले बताए ।
रुकुमको चुनवाङसम्म जोड्ने उक्त सडकको स्तरवृद्धिका लागि पटकपटक सम्बन्धित निकायमा गएको भए पनि सुनुवाइ नभएको दाङस्थित विजौरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष रेश्मीराज खड्काले बताए । यदि सोही खोलामा सडक बनेमा त्यहाँ उत्पादन भएको तरकारी पनि सहजै विजौरी बजारमा लैजान सकिने बताए । उक्त सडक विस्तार भएमा व्यापरिक हिसाबले पनि फाइदा पुग्ने उनको भनाइ छ । सोही सडकमा पुल निर्माणका लागि पहललाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।
विजौरीबाट होलरीसम्म २९ किलोमिटर छ । त्यसमध्ये होलेरी क्षेत्रमा पाँच किलोमिटर र विजौरी क्षेत्रमा नौ किलोमिटर सडक कालोपत्रसमेत भइसकेको छ भने बाँकी १५ किलोमिटर सडक स्तरवृद्धि हुन नसक्दा आवतजावतमा निकै समस्या हुने गरेको रुन्टीगढी गाउँपालिका–८ का वडाध्यक्ष तुलसी पुनमगरले बताए । -रासस

प्रतिक्रिया