आइतबार, जेठ ५, २०८२

तीन पालिकामा किशोरकिशोरीमैत्री सूचना केन्द्र

नेपालखोज २०८२ जेठ ५ गते ७:३३

बैतडी । जिल्लाको पाटन नगरपालिका, सुर्नया र डिलाशैनी गाउँपालिकाका विभिन्न विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्र सञ्चालनमा रहेका छन् ।

तीनवटै पालिकामा सञ्चालनमा रहेका सूचना केन्द्र सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएको नेपाल परिवार नियोजन सङ्घका वरिष्ठ शाखा प्रबन्धक वासुदेव विष्टले बताए ।

किशोरकिशोरीमैत्री सूचना केन्द्रले विद्यार्थीलाई यौन तथा प्रजनन स्वास्थ्यका धेरै विषयमा र बृहत् यौनिकता शिक्षाका विषयमा समेत जानकारी दिने गरेको सुर्नया गाउँपालिकाका उपाध्यक्ष मञ्जु बोहराले बताए ।

उनले भने, ‘किशोरकिशोरीमैत्री सूचना केन्द्रले अभिभावक, शिक्षक र विद्यार्थीमा यौन तथा प्रजनन स्वास्थ्यका बारेमा रहेका गलत धारणा हटाउन मद्दत गरिरहेको छ ।’

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, अष्ट्रेलियन एड र नेपाल परिवार नियोजन सङ्घको सहयोगमा किशोरकिशोरीमैत्री सूचना केन्द्र सञ्चालन भइरहेका हुन् । तर पछिल्लो समय सम्बन्धित पालिकालाई हस्तान्तरण गरिएका छन् ।

नेपाल परिवार नियोजन सङ्घ पाटनका सभापति मानबहादुर चन्दले किशोरकिशोरीमैत्री सूचना केन्द्र विद्यालयमा आवश्यक रहेको र यी केन्द्रलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

केन्द्रलाई निरन्तर रूपमा सञ्चालन गरिने डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताउनुभयो । उहाँले भने ‘यौन तथा प्रजनन स्वास्थ्यका विषयमा रहेका गलत धारणा हटाउन यी केन्द्रले सहयोग गर्नेछन्, साथै समाजमा रहेका विभिन्न हानिकारक चलन हटाउन पनि केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्ने छ ।’

केन्द्रका लागि विद्यालयमा एउटा छुट्टै कोठा व्यवस्थापन गरेर किशोरकिशोरीमैत्री यौन तथा प्रजनन स्वास्थ्यका विषयमा अध्ययन गर्न सक्ने विभिन्न पाठ्यसामग्री राखिन्छन् । उक्त केन्द्रमा किशोरकिशोरीले आफ्ना समस्याका विषयमा खुलेर छलफल गर्ने जनाइएको छ । -रासस

प्रतिक्रिया