आइतबार, जेठ ५, २०८२

विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग

नेपालखोज २०८२ जेठ ५ गते १२:१३

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसमयमा विद्युत् आपूर्ति बन्द हुनुका कारणबारे सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नियमित आपूर्तिका लागि सरकारसँग माग गरे ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले भने, अहिले घरघरमा अध्याँरो भइरहेको हुन्छ, बत्ती झ्यापझ्याप गइरहेको छ, यसका कारणबारे जानकारी गराइ यथाशीघ्र समस्या समाधान गर्न आग्रह गर्दछु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सूर्यमान तामाङ (दोङ) ले विद्युत् प्राधिकरणको लापरवाहीका कारण विद्युत्का क्षेत्रमा काम गर्ने कामदारको अनाहकमा मृत्यु भइरहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए ।

हिजोका दिन लोडसेडिङ अन्त्य भएको थियो । पछिल्लो समय लोडसेडिङ भएजसरी झ्यापझ्याप बत्ती जान्छ । के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो? उले प्रश्न गरे । उनले नियमित विद्युत् आपूर्तिका लागि ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणको ध्यानाकर्षण गराए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सराज अहमद फारुकीले पछिल्लो समय सडक दुर्घटनाका घटना बढ्दै गएका उल्लेख गर्दै दुर्घटना न्यूनीकरणसम्बन्धी योजना ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले काभ्रेपलाञ्चोकमा विद्युत् जडानका क्रममा उमेश परियारको करेन्ट लागेर मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराए । जनमत पार्टीका सांसद अब्दुल खाँनले यही शनिबार सर्लाहीको पर्सा–५ तसलिम अन्सारीलाई केही व्यक्तिले मारपिट गरी बङ्गुरको खोरमा थुनेको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे ।

उनले मुस्लिम समुदायको धार्मिक, सांस्कृतिक र पहिचानको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले केही दिनअघि विद्युत् मर्मतका क्रममा करेन्ट लागेर मृत्यु भएका २८ वर्षीय उमेश परियारको परिवारलाई उचित राहत र क्षतिपूर्ति दिलाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया