आइतबार, जेठ ५, २०८२

सुडानमा गृहयुद्धका कारण विद्युत् र यातायात सेवा चरम रूपमा प्रभावित

नेपालखोज २०८२ जेठ ५ गते १९:२७

खार्तुम । सुडानमा दुई वर्षदेखि जारी सरकारी सेना र अर्धसैनिक बलबीचको लडाइँले देशको विद्युत् तथा यातायात सेवा गम्भीर रूपले ध्वस्त पारेको छ ।

सरकारी तथ्याङ्कअनुसार देशको करिब ४० प्रतिशत विद्युत् उत्पादन क्षमता नष्ट भइसकेको छ । देशभरका १५ ताप विद्युत् केन्द्रमध्ये अहिले मात्र दुई सञ्चालनमा छन् भने सातवटा पूर्णरूपमा नष्ट भएका छन्, जसमा राजधानी खार्तुमको केन्द्र पनि पर्छ ।

विद्युत् संस्थाका अनुसार एक लाखभन्दा बढी ट्रान्सफर्मरहरू नष्ट भएका छन् । धेरै प्रदेशहरूमा विद्युत् आपूर्ति बन्द छ । उत्तरी प्रदेशमा त विगत एक महिनादेखि पूर्ण अन्धकार छ । राजधानी खार्तुममा विद्युत् केन्द्रहरूमा आक्रमण हुँदा व्यापक रूपमा बत्ती जाँदै आएको छ ।

बिजुली नहुँदा किसानहरू ठूलो समस्यामा परेका छन् । एक किसानका अनुसार पाँच लाख फेड्डान जमिनमा खेती गर्न मुस्किल परेको छ ।

यातायात सेवा पनि निकै क्षतिग्रस्त भएको छ । रेलमार्ग, विमानस्थल, सवारी मार्गजस्ता पूर्वाधारहरू ध्वस्त भएका छन् । राजधानीको अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा बिग्रिएको छ ।

देशको प्रमुख वायुसेवा कम्पनीले तीनवटा विमान गुमाएको र अरू तीन विमानमा आंशिक क्षति पुगेको छ । कम्पनीलाई दश करोड बराबरको नोक्सानी भएको बताइएको छ ।

लामो दूरीका सात भागको बस सेवा बन्द भइसकेको छ । सवारीसाधन चलाउन अत्यधिक खर्च लाग्न थालेको छ । त्यसले गर्दा प्रदेशहरूबीचको यात्रामा लाग्ने भाडा दोब्बरभन्दा बढी भएको छ ।

डोङ्गोला देखि पोर्ट सुडानसम्मको भाडा साठ्ठी हजार पाउन्डबाट एक लाख पाउन्ड पुगेको छ । अहिले खुला बजारमा एक डलर दुई सय पचास पाउन्ड बराबर भएको छ ।

सन् दुई हजार तेइसको अप्रिलदेखि सुरु भएको यो युद्धले लाखौँ मानिसलाई विस्थापित गरिसकेको छ भने धेरैले ज्यान गुमाइसकेका छन् । (रासस/सिन्ह्वा)

प्रतिक्रिया