सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँचजना पक्राउ
सिरहा । सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना पक्राउ गरेको छ । प्रहरीले फरक–फरक स्थानबाट ७१ लाख तीन हजार नेपाली रुपैयाँ तथा ३५ हजार भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार लहान नगरपालिका–२२ लबटोलीका ३२ वर्षीय दिनेशकुमार यादव र उनकी बहिनी २६ वर्षीय किरणकुमारी यादवका साथबाट रु ५५ लाख र २०० ग्राम ब्राउन सुगर बरामद गरिएको हो ।
प्रहरीले उनीहरुका साथबाट गत शुक्रबार २१ ग्राम ब्राउन सुगर र रु ५१ हजार तथा दुई थान मोबाइल बरामद गरेको थियो । प्रहरीले अनुसन्धानका क्रममा उनीहरूको कोठा खानतलासी गर्दा थप ५४ लाख १४ हजार नेपाली रुपैयाँ तथा ३५ हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।
त्यसैगरी, उनीहरुका साथबाट थप १८० ग्राम ब्राउनसुगर पनि फेला परेको थियो । प्रहरीका अनुसार, उनीहरू व्यावसायिक ढङ्गले नै लागुऔषधको कारोबार गर्दै आएका थिए ।
उनीहरूमाथि लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद लिई विस्तृत अनुसन्धान कार्य गरिरहेको सिरहा प्रहरीले जनाएको छ ।
अभियुक्त दिनेश यसअघि पनि लागुऔषध कारोबारको अभियोगमा छ महिना जेल सजाय भुक्तान गरिसकेका व्यक्ति भएको प्रहरीको भनाइ छ ।
यस्तै, प्रहरीले सिरहा नगरपालिका–१७ का ४५ वर्षीय सञ्जय कारकलाई शनिबार सिरहा–२ स्थित महावीर चोकबाट स्रोत नखुलेको रु १६ लाख ३८ हजारसहित पक्राउ गरेको थियो ।
प्रहरीले औरही गाउँपालिका–३ का २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज रायलाई ७१० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । -रासस
प्रतिक्रिया