सोमबार, जेठ ६, २०८२

ट्र्याक खुलेको दुई दशकपछि कालोपत्रे

नेपालखोज २०८२ जेठ ६ गते ७:२८

ढोरपाटन । दुई दशक अगाडि ट्र्याक खुलेको गलकोट–ताराखोला सडक कालोपत्र गरिएको छ । गलकोट नगरपालिका–३ हटिया बजारदेखि ताराखोला गाउँपालिका–१ को सिमानासम्म साढे छ किलोमिटर सडक कालोपत्र गरिएको हो ।

बागलुङ र म्याग्दी जिल्ला जोड्ने निर्माण भएको उक्त सडक पहिलो चरणमा १० किलोमिटर गर्ने गरी आयोजना सुरु भएको थियो ।

स्तरोन्नतीसहित कालोपत्र गर्नका लागि विसं २०७६ कात्तिकमा सम्झौता गरी काम सुरु भए पनि हालसम्म कालोपत्र हुन सकेको थिएन । कोभिड–१९ र विभिन्न समस्या देखाएर निर्माण कम्पनीले लामो समय काम नगर्दा कालोपत्र गर्न सकिएको थिएन ।

पूर्वधार विकास कार्यालय बागलुङले निर्माण कम्पनीलाई दुई वर्षमा सक्ने गरी जिम्मा दिएको थियो । विसं २०७८ कात्तिक मसान्तसम्म सक्नु पर्ने चार पटक म्याद थप गर्दा हालसम्म ८३ प्रतिशत काम भएका पूर्वधार विकास कार्यालय बागलुङका इञ्जीनीयर चन्द्र पुनले जानकारी दिए ।

चौँथो पटक म्याद थप गरेको अवधि गत चैत मसान्तमा सकिएको भए पनि आगामी असोजसम्मका लागि थप गर्न निर्माण कम्पनीले निवेदन दिएको उनको भनाइ छ ।

बहुवर्षे ठेक्का लगाएर काम सुरु गरे पनि पर्याप्त बजेट नहुँदा यसवर्ष पनि काम सकिने सम्भावना कम भएको इञ्जीनीयर पुन बताउँछन् ।

इञ्जिनियर पुनका अनुसार अझै साढे तीन किमी सडक कालोपत्र गर्न बाँकी छ । उक्त सडक पनि ग्राभेल गरिसकेको हुँदा कालोपत्रका लागि तयारी अवस्थामा रहको उनको भनाइ छ ।

अहिले हटिया बजारदेखि जङ्घरासम्म कालोपत्र भएको उनले जानकारी दिए । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले सडक स्तरोन्नतिसँगै कालोपत्र भएपछि ताराखोला र गलकोट क्षेत्रका हजारौँ नागरिकलाई यात्रा गर्न तथा सामान ढुवानी गर्न सहज भएको बताए ।

दुई वर्ष अगाडिसम्म बर्खामा हिलो र हिउँदमा धुलोले आजित बनेका स्थानीयको समस्यासमेत समाधान भएको उनको भनाइ छ । -रासस

प्रतिक्रिया