सोमबार, जेठ ६, २०८२

अख्तियार हेटौँडा कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

नेपालखोज २०८२ जेठ ६ गते ८:२४

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका १२ वटा जिल्लाका स्थानीय तहमा चालु आर्थिक वर्षको वैशाखसम्मको अवधिमा एक हजार पाँच सय ६४ उजुरी परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका प्रहरी नायब उपरीक्षक राजीव श्रेष्ठले कार्यालय मातहतका जिल्लामध्ये रौतहट, बारा र पर्सा जिल्लाका स्थानीय तहमा सबैभन्दा धेरै उजुरी आउने बताए ।

‘चालु आवको १० महिनामा रौतहटका स्थानीय तहसम्बन्धी चार सय ३० उजुरी दर्ता भएका छन्,’ उनले भने, ‘दोस्रो धेरै उजुरी पर्नेमा बारामा तीन सय ९७ र पर्सा जिल्लामा तीन सय ५२ वटा उजुरी परेका छन् ।’ कार्यालय मातहत चालु आवमा सबैभन्दा कम उजुरी भने रामेछाप र रसुवा जिल्लामा परेको छ । जहाँ १० महिनामा तीन–तीन वटा मात्रै उजुरी परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयका प्रमुख उमाकान्त आचार्यले स्थानीय तहमा विधिको शासन र सुशासन कायम राख्न जरुरी रहेको बताए ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठले स्थानीय तहमा सार्वजनिक खरिद प्रक्रियाका विषयमा धेरै खालका उजुरी आउने गरेको बताए । गत आवमा कार्यालय मातहतका १२ जिल्लामा नौ सय १८ वटा उजुरी अख्तियारमा परेका थिए ।

नायब प्रहरी उपरीक्षक श्रेष्ठले अख्तियार कार्यालय हेटौँडाले चालु आवको १० महिनामा एक हजार ३९ वटा उजुरी फछ्र्यौट गरेको जनाएको छ ।

जबकी गत आवभरिमा भने चार सय ५४ वटा उजुरी फछ्र्यौट गरेको थियो । कार्यालयका अनुसार चालु आवको १० महिनामा पाँच सय २५ उजुरी फछ्र्यौट गर्न बाकीँ छ, भने गत आवको पनि चार सय ६४ उजुरी फछ्र्यौट गर्न बाँकी छ ।

हेटौँडा कार्यालय मातहत मधेश प्रदेशका तीन जिल्ला र बागमती प्रदेशका नौ जिल्ला पर्ने गर्छन् । जसमा रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, धादिङ, दोलखा, काभ्रेपालाञ्चोक, सिन्धुपाञ्चोक, रसुवा, नुवाकोट र रामेछाप जिल्ला पर्दछ । -रासस

प्रतिक्रिया