सोमबार, जेठ ६, २०८२

पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने

नेपालखोज २०८२ जेठ ६ गते १२:०५

चितवन जिल्लाका पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने भएको छ । यहाँका हरेक दुग्ध उत्पादक सहकारीमा आबद्ध उनीहरूलाई जलवायुको असरका कारण दुग्ध उत्पादनमा परेको समस्या न्यूनीकरणका उपायहरू र जलवायु परिवर्तनमा पशु चौपायाले पार्ने असरका बारेमा जानकारी गराइने छ ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र केन्द्रीय दुग्ध सहकारी सङ्घको सक्रियता एवम् हेफर इन्टरनेशनलको सहयोगमा किसानलाई तालिम दिन लागिएको हो । यसको सुरुआती स्वरूप जिल्लाका सातवटै पालिकाको पशु शाखाका चिकित्सक एवम् प्राविधिक र निजी क्षेत्रका प्राविधिकलाई आइतबारदेखि तालिम सुरु गरिएको छ । तीन दिनसम्म पशु चिकित्सक एवम् प्राविधिकलाई तालिम दिएर उनीहरूले पालिकामा रहेका सहकारीमा आबद्ध किसानलाई तालिम दिनेछन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले जलवायुका कारण दुध उत्पादनमा परेको असर र पशुका कारण जलवायुमा पर्ने असरको विषयमा ज्ञान लिई दुवैको समस्या समाधानका लागि सहयोग पुग्ने बताए । उनका अनुसार यसरी तालिम लिएका पाँच हजार किसानले दुग्ध उत्पादनका क्षेत्रमा असल अभ्यास गर्ने छन् ।

केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अम्बरबहादुर कुँवरले दुग्ध उत्पादक किसानलाई आत्मनिर्भर बनाउन तालिम आवश्यक रहेको बताए । उनका अनुसार पाँच हजार किसानबाट अन्य किसानले पशुपालन अभ्यास सिक्न पाउने छन् ।

हेफर इटरनेस्नलका कार्यक्रम संयोजक डा लेखनाथ अधिकारीले चितवनका किसानलाई आत्मनिर्भर बनाउन पशुपालन क्षेत्रमा काम गरिएको बताए । यहाँको असल अभ्यासले देशलाइनै नतिजा दिने गरी काम हुने विश्वास उनले व्यक्त गरे ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले दुग्ध उत्पादक किसानलाई असल पशुपालन अभ्यास अहिलेको आवश्यकता रहेको बताए । यसका लागि तीनै तहको सरकारले सहजीकरणको भूमिका निर्वाह गर्न जरुरी रहेको उनको भनाई छ ।

बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेलले दुग्ध उत्पादनका क्षेत्रमा काम गर्न यस्ता कार्यक्रम फलदायी हुने उल्लेख गरे ।

श्रोत : आइएनए-स्वतन्त्र समाचार

प्रतिक्रिया