आइतबार, जेठ १९, २०८२

कर्ण बहादुर केरुङ उर्फ दारासिंह

सुनिल उलक २०८२ जेठ ६ गते १६:११

पूर्व झापा इलाम तिरको निकै चर्चित नाम रहेछ । कतै कतै नाम भन्दा पनि बदनाम भन्ने गरिँदो रहेछ । काठमाडौं मण्डला थियटरमा उनै दारासिंहको जीवन कथा सारलाई सुमन लिङ्देनले कथा नाटक लेखेका थिए भने चेतन आङथुपोले निर्देशन गरेका छन् । पार्श्व सङ्गीत र पार्श्व गीत गायन प्रत्यक्ष गरिएको थियो । पूर्वी नेपाल चुलाचुलीको रैथाने रङ्गमञ्च समूह चुलाचुली रङ्गमञ्चको प्रस्तुति रहेको नाटक “उर्फ दारासिंह” हेर्नका लागि वैशाखमा नै निम्तो पाए पनि काठमाडौं आउँदा नाटक हेर्न अवश्य आउने जानकारी निर्देशक चेतन भाइलाई गराएको थिएँ । जुन अवसर शनिवार जुर्न पुग्यो ।

कर्ण बहादुर केरुङ उर्फ दारासिंहको कथा हामी पश्चिममा बस्नेहरूका लागि निकै अज्ञात नै रहेको छ । भारतीय दारासिंहको नाम सुनिरहेकाहरू हाम्रा लागि पूर्वी नेपालमा पनि दारासिंह नाम गरेका थिए भन्ने अनौठो लाग्नु स्वाभाविकै हो । अझ दारासिंहको भाइ किङकङ पनि रहेछ । किङकङको भने पछिल्लो समय कोविडको मारामारीको समय देहान्त भएको रहेछ । दारासिंहको खास नाम कर्ण बहादुर केरुङ लिम्बू भए झै किङकङको खास नाम चाहिँ हाङसरूम्बा लिम्बू रहेछ । यी यी दाजुभाइका उपनामहरूले नै झगडालु थिए कि भन्ने बुझिन्छ । तर नाटकको कथावस्तुमा भने दारासिंह गलत व्यक्तिहरूका लागि गलत तर समाजको लागि भने निकै महत्त्वपूर्ण थिए भन्ने देखिन्छ ।

पहाडमा बस्दै आएका जनताहरूलाई २०२५ सालतिर पञ्चायतकलामा पहाडका कोश टप्पु वन्यजन्तु आरक्ष, इलामको बाझो, चुलाचुली, मोरङको हम्सेदुम्से तथा चन्दनेका बासिन्दाहरूलाई तराइको मोरङको केचना तथा बयर बारीमा सट्टाभर्नाका रूपमा झोडा (जङ्गल) फाँडेर बस्ने अनुमति दिइएको थियो । यसरी गाउँबाट स्थानान्तरण गरी आवाद गराउने प्रयास गरिए पछि यसको केहीले विरोध गरेका थिए । यही विरोध गर्नेहरूको नेतृत्व यिनै दारासिंहले गरेका थिए, जुन विषयवस्तु पनि यस नाटक मञ्चनमा देखाइएको छ । हुन यसरी झोडामा जानेहरूको पनि हालसम्म पनि विवाद नै रहेको छ । यसरी गएकाहरू बसोबास गरेको चार दशक पुगिसक्दा समेत जग्गाधनी पुर्जा पाउन सकेका छैनन् ।

त्यस बेला झोडाको विरोध गरेका दारासिंहलाई भने पञ्चायत विरोधी भनेर चर्चा गरिएको थियो । २००४ असार मसान्त तिर जन्मनु भएका दारासिंहको मृत्यु भने २०३७ सालको पौष ३० गते माघे मेलाको अगिल्लो रात भएको थियो । केवल ३४ वर्षमा देहान्त भएका दारासिंहको मृत्यु भने असामयिक भएको भनिएको छ । उनको हत्या खुकुरी प्रहारबाट भएको थियो ।

माघे मेलाको समय एक हुल युवाहरूको आक्रमणमा परि उनको मृत्यु भएको भन्ने गरिन्छ । तर सत्य तथ्य यही हो भन्ने कतै उल्लेख गरिएको छैन । महिलासँगको सम्बन्धमा उनी अरू भन्दा अगाडि थिए । ३४ वर्षको उमेरमा तीन श्रीमती बनाइसकेका थिए । जेठी सेरहाङमा आङ्देम्बे, माहिली आइतरानी योङ्हाङ तथा कान्छी रामकुमारी नेम्बाङ थिए । कता कता कान्छी श्रीमतीको जारले काटेको पनि भन्ने गरेको देखिन्छ । भने कतै बहुदल र निर्दल बिचको विवादमा निर्दलवादीले प्रतिशोधमा काटेको पनि भनिन्छ ।

खैर उनको योगदानमा बाटो बनेको देखिन्छ । झापाको कमल गाउँपालिका मुजुरभिट्टामा दारासिंह चोक नै नामाकरण गरिएको छ ।

प्रशासन वा पञ्चायतकालीन अवस्थामा कर्ण बहादुर केरुङ उर्फ दारासिंहलाई जतिसुकै बदनाम गरिए पनि उनले गाउँमा अन्याय विरुद्ध लड्न गरेको नेतृत्व र उनले गरेका विकास निर्माणको चर्चा आज पनि हुने गर्दछ । एउटा हराएको इतिहास बोकेको एक भुइमान्छेको कथा “उर्फ दारासिंह” एक पटक हेर्नै पर्ने नाटक रहेको छ ।

पूर्वेली परिवेश र सङ्गीतले सजिएको नाटकका केही दृश्य भने त्रास पूर्ण देखिन्छ । जेठी माथि माहिली सौतेनी आएपछि दुई सौता सौतेनीको हस्सीठट्टा तथा मिलेर बसेको देख्दा भने रमाइलो लाग्दछ । समग्रमा नाटकको विषयवस्तु भिन्न बायोपिक जस्तै रहेको छ ।

प्रतिक्रिया