फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

लेखनाथ (कास्की) । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणमा प्रदेश सरकारले विशेष ध्यान दिने बताएका छन् ।
पर्यटकीय राजधानी पोखराको गहना फेवातालको अस्तित्व बचाइ राख्ने दायित्व प्रदेश सरकार र पोखरा महानगरपालिको भएकाले आफ्नो ध्यान त्यसतर्फ केन्द्रित भएको उनको भनाइ छ ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३ कास्कीको दोस्रो क्षेत्रीय सम्मेलनमा आज पोखरामा उनले फेवातालको मापदण्ड कायम गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा ल्याउन सिमाङ्कन सुरुवात भएको जानकारी दिए ।
प्रजातन्त्रपछि धेरै काम भएपनि दलहरुले विकास गर्न सकेनन् भनेर भाष्य निर्माण गरी लोकतन्त्रलाई असफल बनाउन खोज्नेतर्फ सतर्क हुनुपर्नेमा उनको जोड छ ।
प्रदेश सरकारले सीमित स्रोतसाधनका वाबजुद पनि जनताको हितमा काम गरेको जिकिर गरे । उनले प्रदेशको बजेट ३२ अर्ब रहेको र त्यो मध्य १८ अर्ब तलबमा खर्च हुने भएकाले विकास निर्माणले गति लिन नसकेको भनाइ उनको थियो ।
सङ्घ सरकारले प्रदेश सरकारलाई अधिकार नदिएकै कारण सोचे जति काम गर्न नसकिएको उहाँको आरोप छ । उहाँले प्रदेश र स्थानीय सरकार मात्र जनताको दैलोमा जान सक्ने बताए । सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्थानीय नेताहरुले आफ्ना भनाइ राखेका थिए । -रासस
प्रतिक्रिया