प्रतिनिधिसभा बैठक सुरू

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकमा आकस्मिक समयमा बोल्ने क्रममा सांसदहरूले नागरिकका जनजीविका, पूर्वाधार निर्माण, उपभोक्ता बजारका समस्या, प्राकृतिक विपद्लगायत विषयहरू उठाएका छन् ।
सांसद रमा कोइराला पौड्यालले बजारमा खाना पकाउने ग्यासका सिलिन्डर धेरै कम्पनीको रहेको र कुनै सिलिन्डर अभाव हुँदा अर्को साट्न समस्या हुने गरेको विषय संसद्मा उठाइन् । कुनै एक कम्पनीको ग्यास सिलिन्डर साटेर अर्को कम्पनीको लिँदा रू ५०० देखि एक हजारसम्म अतिरिक्त तिर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
यस विषयमा सम्बन्धित निकायबाट अनुगमन गर्न सांसद कोइरालाले संसद्मार्फत सरकारको ध्यानाकर्षण गराइन् । सांसद अमनलाल मोदीले हुलाकी सडकको निर्माणमा ढिलाइ हुँदा सर्वसाधारण नागरिकले दुःख पाइरहेको बताए । संसद्मा आवाज उठाउँदा पनि हुलाकी सडक निर्माणमा तदारूकता देखिन नसकेको उनले उल्लेख गरे ।
अर्का सांसद छिरिङडम्डुल लामाले हुम्ला जिल्लामा हिमताल फुटेर बस्ती जोखिममा रहेको भन्दै लेदोसहितको पहिरोले लिमी तिल गाउँ जोखिममा परेको बताए । जोखिममा रहेका बस्तीमा उद्धारका लागि कुनै पनि निकायबाट पहल हुन नसकेको उनले उल्लेख गरे ।
आज पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ प्रतिनिधिसभामा पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै, आजै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस गर्नेछन् ।
प्रतिक्रिया