डेङ्गी नियन्त्रणका लागि विद्यालयमै सचेतनामूलक कार्यक्रम गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागले डेङ्गी नियन्त्रणका लागि विद्यालयमा सचेतनामूलक कार्यक्रम थालनी गरेको छ ।
कामपाको ३२ वटा सामुदायिक विद्यालयका कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीलाई डेङ्गी सङ्क्रमणका बारेमा जानकारी दिइ समुदायमा सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम थालिएको कामपाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका ‘फोकलपर्सन’ ऋषिप्रसाद भुषालले जानकारी दिए ।
उनका अनुसार उक्त कार्यक्रम पहिलो विद्यालयका रूपमा वडा नं ३ स्थित शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्जमा सम्पन्न भइसकेको छ ।
बर्खायाम सुरु भएसँगै डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने भएकोले जोखिम घटाउने रोकथाम, नियन्त्रण र उपचारका विषयमा जानकारी दिन सचेतनामूलक कार्यक्रम थालिएको भुषालले बताए । तीन हजार दुई सय विद्यार्थीलाई सचेत बनाएर डेङ्गी नियन्त्रणका सन्देश संवाहक बनाउने योजना कामपाको छ ।
‘समुदायस्तरमा डेङ्गी रोगको रोकथामका प्रयासका बारेमा छलफल र अन्तरक्रिया चलाएर सम्भावित जोखिम घटाउने वडा कार्यालयको योजना छ’, वडा नं ३ की सदस्य सीता थापाले भने । सचेतनामूलक र क्षमता विकासका कार्यक्रमपछि लामखुट्टेका लार्भा नष्ट गर्ने कार्यक्रम सञ्चालन गर्ने योजना छ ।
अहिले झरी परिरहेको र यस क्रममा जम्मा हुने पानीमा लामखुट्टेका लार्भा हुर्किन सक्ने भएकोले सजगता अपनाउन आवश्यक रहेको कामपा स्वास्थ्य विभागको भनाइ छ ।
प्रतिक्रिया