तिलौराकोट र पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने तयारीे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कपिलवस्तुको तिलौराकोट र काभ्रेपलाञ्चोकको पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसका अवसरमा पुरातत्व विभागले आज हनुमानढोका दरबार क्षेत्रमा आयोजना गरेको कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने काम भइरहेको र अन्य स्थललाई थप व्यवस्थित गरेर तयारी गर्दै लैजाने बताए ।
नेपालका सङ्ग्रहालयमा वार्षिक लाखौं पर्यटक आमन्त्रण गर्न सकिने भएकाले त्यसै अनुसार व्यवस्थापन र प्रचारप्रसार गर्नुपर्नेमा मन्त्री पाण्डेको जोड थियो ।
जर्मनीको सात सय वर्ष पुरानो हाइडलवर्ग विश्वविद्यालयमा अहिले पनि नेपालका पुराना सम्पदा सुरक्षित रहेको उल्लेख गरे । विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रको नौतले दरबार पुनःनिर्माणपछि आजैदेखि अवलोकनकर्ताका लागि शुभारम्भ गरिएको छ ।
पाटन र भक्तपुर दरबार क्षेत्रका साथै हाँडीगाउँलगायत काठमाडौं उपत्यकाका पुराना बस्तीमा विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि सम्पदाको संरक्षण गर्नुपर्नेमा मन्त्री पाण्डेको जोड थियो । -रासस

प्रतिक्रिया